साउन ६, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले सरकार अधिनायकवादतफ उन्मुख भएको अरोप लगाएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर राप्रपा प्रजातान्त्रिकले सरकारलाई सच्चिन आग्रह गरेको छ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । केसीलाई जुम्लाबाट काठमाण्डौ ल्याउने बहानामा अस्पताल क्षेत्रमा गरिएको दमनप्रति राणाले आपत्ति प्रकट गरे ।
“आर्थिक वर्ष २०७५–७६ को सुरुदेखि नै विभिन्न शीर्षकमा कर र राजश्व बढाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ । संविधानले परिकल्पना गरेको राज्य व्यवस्थातर्फ सरकार उन्मुख हुनुको बदला अत्याचारपूर्वक तबरले तीनै तहको सरकारबाट करको सैद्धान्तिक अवधारणा विपरित करको दर र दायरा वृद्धि गरिएको छ । राजश्वको लक्ष्य पूरा गर्ने नाममा उपभोक्तालाई चेपुवामा पारिएको छ ।” राप्रपाको विज्ञप्तिमा लेखिएको छ ।
इन्टरनेटमा १३ प्रतिशत र जन्म दर्ता र मृत्यु दर्ता शुल्क १० रुपैयाँबाट १ हजार रुपैयाँ बनाइएको प्रति राप्रपाले आपत्ति जनाएको छ ।
मोबाइल, टेलिफोन, इन्रनेट, खानेपानी, इन्धन लगायतका क्षेत्रमा करको दर र दायरा बढाएर सरकारले जनताको कर तिर्ने क्षमता नबुझेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाको आरोप छ ।
चुलोमा आगो बाल्नै कठिन हुने गरी बजार भाउ बढेको तर सरकारले नियन्त्रण नगरेको भन्दै राप्रपाले ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थमाप्रति लिटर २५ पैसा अतिरिक्त शूल्क असुल्ने निर्णयप्रति पनि राप्रपाले आपत्ति जनाएको छ ।
“घर जग्गा र सम्पत्ति कर चरम रुपमा बढाएर पैतृक सम्पत्तिमा समेत ५प्रतिशत लाभकर तिर्नुपर्ने र जग्गा किनबेचमा दुवै पक्षले थैलीको १२.५ प्रतिशत राजिनामा पारित दस्तुर कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यसले साना किसान, व्यवसायी लगायत विपन्न जनतालाई ठूलो मर्का परेको छ ।” राप्रपाको विज्ञप्तिमा लेखिएको छ ।
कर वृद्धिका कदमहरु तत्काल फिर्ता लिदै जनतालाई महङ्गीको मारबाट बताउन रातहतका कार्यक्रम ल्याउन राप्रपाले सरकारलाई आग्रह गरेको छ । अन्यथा यसबाट उत्पन्न हुने भयाबह दुष्परिणामको जिम्मेवार सरकार सरकार स्वयम हुने चतावनी राप्रपाले दिएको छ ।
“जनआंकक्षा विपरित सरकार लगायत सम्पूर्ण राज्य सत्तालाई नै अधिनायकवादतर्फ उन्मुख गराउने जुन शैली र प्रक्रिया आरम्भ भएको छ त्यसप्रति राप्रपा प्रजातान्त्रिक गम्भीर आपत्ति प्रकट गर्दछ ।” राप्रपाले भनेको छ ।