काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् ।
नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने, “हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ, प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ, प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।”
प्रचण्डले भए/नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे ।
डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए।