Logo

राजनीतिक अस्थिरताका लागि ठूलै षडयन्त्र भएको गृहमन्त्रीको दाबी(भिडियोसहित)



साउन १७, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले देशमा अस्थिरता कायम गर्न यथास्थितिवादीहरुले चलखेल गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कञ्चनपुरकी बालिका बलात्कार र सांसद निरु पालमाथिको घटनाबारे जानकारी गराउदै गृहमन्त्री थापाले देशमा राजनीतिक अस्थिरता कायम गर्न ठूलै तयारी भइरहेको जानकारी आएको दाबी गरेका हुन् । उनले यस विषयमा सरकार अन्त्यन्तै गम्भीर रहेकोसमेत जिकिर गरे ।

गृहमन्त्री थापाले देशलाई विखण्डन गर्ने षड्यन्त्रलाई पनि निस्तेज पारिएको बताए । सांसद निरु पालमाथिको घटनाका विषयमा छानविनको तयारी भइरहेको भन्दै उनले देशमा राजनीतिक स्थिरता नचाहनेहरुले यस्तो घटना फैलाउन चाहेको बताए ।

सांसद पालको घटना आर्थिक अपराधसँग नभइ राजनीतिसँग जोडिएको थापाको जिकिर छ । यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा बारेमा जानकारी गराउदै उनले कैलाली जिल्लाका २२ वर्षीय जीवन घर्ती मगर, कञ्चनपुरका दीपक नेगीलाई नियन्त्रणमा लिएर छानविन अगाडि बढाइएको जानकारी दिए ।

त्यस्तै बैठकमा १० दिन लामो युरोप भ्रमणका बारेमा जानकारी गराउदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विदेश नीति, लगानीको नीति, नयाँ सरकारको कार्यक्रमलगायतका विषयमा अन्तराष्ट्रिय समूदायले चासो राखेको बताए ।

भ्रमणका क्रममा आफुले युरोपमा व्यापार विस्तारका लागि थप प्राथमिकतामा राख्न आग्रह गरेको उनले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्