Logo

मुटु नै ढुकढुक हुने गरी यसरी जित्यो नेपालले नेदरल्याण्डलाई(सम्पूर्ण स्कोरकार्डसहित)



साउन १९, काठमाण्डौ । रोमाञ्चक खेलमा नेदरल्याड्सलाई एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।

नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो । पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित हात पार्दै सिरिज बराबरी गर्ने दाउमा थियो ।

त्यस अवस्थाबाट नेपाललाई १ रनको रोमाञ्चक जित दिलाउन कप्तान पारस खड्का अन्तिम ओभरमा नायक बने ।

नेपालका मुख्य बलर सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीको स्पेल सकिसकेको थियो। अर्का फास्टर बलर ’डेब्युटान्ट ब्वाए“ ललित भण्डारीले ४८ औँ ओभर बलिङ गरेका थिए। उनको ओभर अझै बाँकी थियो। यस्तै ४९औँ ओभर दीपेन्द्र सिंह ऐरीले गरे ।

अन्तिम ओभरमा पारससँग धेरै विकल्प थिएन । कि ललितलाई बलिङ गराउनु कि नयाँ नयाँ बलर प्रयोग गर्नु । तर कप्तान पारस खड्का अन्तिम ओभर बलिङ गर्न आफैँ अगाडि बढे । र नेपाललाई पहिलो एक दिवसीय जित दिलाए । घरेलु समर्थकलाई निराश पारे । भिआरए ग्राउण्डममा उपस्थित २०० भन्दा बढी नेपाली त्यसको प्रत्यक्ष साक्षी बने । दर्शकले पनि नेपाली खेलाडीलाई भरपुर साथ दिए ।

अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जितका लागि ६ रन चाहिएको थियो र क्रिजमा थिए फ्रेड क्लासेन र पउल भान मिकेरेन ।

५०औँ ओभरको पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिए । दोस्रो बलमा मिकेरेनले कुनै रन जोड्न सकेनन् । तेस्रो बलमा मिकेरेनले १ रन जोड्दै ३ बलमा ४ रन आवश्यक बनाए। रन जोड्दा डच खुशी हुन्थे भने डट बल फाल्दा नेपाली। चौथो बलमा क्लासेनले २ रन जोड्दा नेदरल्याण्डलाई अन्तिम २ बलमा २ रन चाहिएको थियो ।

यस्तो अवस्थामा खेल नेपालको पक्षबाट लगभग गुमिसकेको थियो । तर त्यस्तो अवस्थामा पनि कप्तान पारसले संयमित भएर अन्तिम दुई बल बलिङ गरे । पाँचौ बलमा पारसले क्लासेनलाई रन दिएनन् । अब अन्तिम बलमा नेदरल्याण्सका लागि खेल जित्न २ रन चाहिएको थियो । १ रनले पनि खेल बराबरी हुने थियो । तर, पारसले अन्तिम बलमा पनि कुनै रन दिएनन् भने स्ट्राइकमा रहेका क्लासेनलाई नन स्ट्राइक एण्डमा रनआउट गरे ।

खेल नेपालले एक रनले जित्यो र इतिहास रच्यो ।

नेपाल र नेदरल्याण्डबीचको खेलको स्कोरकार्ड हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot