Logo

नारायणकाजीले ओली–प्रचण्डलाई भेटेरै भने : मलाई प्रवक्ता पुग्यो, अब फर्किन्न



काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवक्ताबाट राजिनामा दिएका नेता नारायणकाजी श्रेष्ठले आज पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पार्टीको सचिवालय बैठकमा भाग लिन पुगेका नेता श्रेष्ठले बैठक लगत्तै अध्यक्षद्धयसँग छुट्टै भेट गरेका हुन् । भेटमा उनले आफू अब पार्टीको प्रवक्तामा फर्किन नसक्ने जानकारी गराएका थिए । स्रोतका अनुसार अध्यक्षद्धय ओली र प्रचण्डले भने जसरीपनि प्रवक्तामा रहेर काम गर्न आग्रह गरेका थिए । तर, नेता श्रेष्ठले आफूलाई प्रवक्तामा बसेर काम गर्ने ईच्छा नरहेको र प्रवक्तामा पूनः फर्किने सोच नै नबनाएको जिकिर गरेका थिए ।

स्रोतका अनुसार नेता श्रेष्ठले पार्टीभित्र आफ्नो मानमर्दन भएको महशुस गरेपछि प्रवक्ताबाट राजिनामा दिएका हुन् । पार्टी एकताको पूर्व सन्ध्यामा भएको छलफल र सैद्धान्तिक सहमतिमा ओली र प्रचण्ड पार्टीमा कुनैपनि पद नराख्नेबारे टुँगोमा पुगेका थिए ।

तर, अन्तिममा प्रचण्डले पार्टीलाई सही तरिकाले सञ्चालन गर्नको लागि महासचिव राख्नुपर्छ पर्ने अडान लिएर विष्णु पौडेलको नाम सिफारिश गरेका थिए । पौडेल नारायणकाजीभन्दा जुनियर भएको तत्कालिन नेकपा माओवादी केन्द्रमा कुरो उठेको थियो ।



प्रतिक्रिया दिनुहोस्