Logo

सडकमा फोहर ! ल्याण्डफिल साइडमा पहिरो, समाधान के ?



साउन २३, काठमाण्डौ । काठमाण्डौ उपत्यका र फोहोर पर्यायवाची शब्द जस्तै भइसक्यो । फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न नसक्दा उपत्यकामा फोहोरको दुर्गन्धले सताउने गरेको छ । अल्पकालिन फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ ।

उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको धेरै भइसक्यो । काठमाण्डौमा हिँड्ने पैदलयात्री नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ । डम्पिङ साइड सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको काठमाण्डौ महानगरपालिकाको फोहर व्यवस्थापन गर्ने निकाय वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

बर्षातको कारण बाटो बनाउदै जाने फेरि बिगरिदै जाने गरेको कारण काठमाडैको फोहोर सिसडोल पुर्याउने अवस्था छैन । दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कुनै उपाय नभएपछि काठमाण्डौ महानगरपालिकाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन पनि भरिएपछि सडकमै फोहोर थुप्रिएको छ ।

लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि काठमाण्डौ नगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने भएकोे छ । काठमाण्डौ महानगरपालिकाको समन्वयमा सिसडोल ल्याण्डफिल साइटको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गरी राय सुझाव पेश गर्न गठित कार्यदलले सिसडोलको विकल्प खोज्न सुझाएका दिएका थिए ।

तर त्यो पुरा हुन सकेको भने छैन । अहिले सिसडोलमा उपत्यकाका तीनसहित धादिङ, काभ्रे र नुवाकोटको फाल्ने गरिएको छ । त्यहाँ कामपाबाट मात्र २० र अन्य जिल्ला तथा निजी क्षेत्र समेतकाले गरी दैनिक १ सय ५० वटा सवारी साधनले फोहर फाल्ने गरिन्थ्यो ।

चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन् । तर सम्बन्धित निकायले भने निरिहता देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्