Logo

मन्त्री महासेठ सडकको खाल्डोमा, हेर्ने मात्रै कि पुर्ने पनि (भिडियोसहित)



साउन २५, काठमाण्डौ । भौतिक पूर्वाधार क्षेत्रको कुरा गर्दा सडक अग्रपंक्तिमा आउँछ । नेपालको सडकको अस्तव्यस्तताले गर्दा सडक मर्मत र नयाँ निर्माणको योजना धेरै बन्ने गरेको छ । काठमाण्डौ उपत्यकाकै सडक यात्रा गर्न लायक छैनन् । वर्षायाम लागेसँगै सडकको यात्रा थप कष्टकर हुने गर्दछ । यही मौका छोपेर सरकारका मन्त्रीहरु अनुगमन गर्छन्, निर्देशन दिन्छन्, तर कार्यान्वयन हुँदैन ।

गएको असार २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव लगायतलाई बोलाएर खाल्डा पुर्न निर्देशन दिएका हुन् । सडकसम्बन्धी ठूला आयोजना होइन, बनिसकेका सडकका खाल्डा पुर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अवस्था छ । तर निर्देशन पनि पालना हुँदैन । प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको यो पहिलो पटक थिएन ।

विगतमा पनि सडकमा सवारी साधन दुर्घटनामा पर्नुको एउटा कारण खाल्डाखुल्डी हो भन्ने तथ्य थाहा भएपछि प्रधानमन्त्री तथा मन्त्रीहरुले निर्देशन दिने गर्दथे । मन्त्री भएलगत्तै चैत ११ गते नै रघुवीर महासेठले पनि वैशाख १५ गते भित्रमा देशैभरीका राजमार्गमा रहेका सबै खाल्डाखुल्डी पुर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर प्रधानमन्त्री र मन्त्रीले सडकको खाल्डा पुर्न निर्देशन दिएको समयावधी कटिसकेको छ ।

सडकका खाल्डाखुल्डी नपुरिएको पाइएमा सम्बन्धित निकायका कर्मचारीलाई कार्वाहरी गर्ने मन्त्री महासेठको जिकीर थियो । तर को कति कारबाहीमा परे, त्यो सार्वजनिक भएको छैन ।

वर्षायाममा सुरु भएसँगै विभिन्न स्थानका सडक हिँड्नै नसक्ने भएका छन् । सवारी साधन र सर्वसाधारणलाई आवतजावतमा निकै कठिन भइरहेको छ ।

काठमाण्डौ उपत्यकाका सडक अस्तव्यस्त भएको भन्दै आलोचना भइरहँदा विहिबार मन्त्री रघुवीर महासेठ स्थलगत अनुगमनमा नै निस्किए ।

मन्त्री महासेठले चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गरेका हुन् । सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित बिहीबार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयनका अबस्थाका बारे अनुगमन गरेका हुन् । अनुगमन गर्दे मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरिय रुपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए । भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नरहने भन्दै मन्त्री महासेठले पिच गर्न समय लागेपनि खाल्डाखुल्डी सबै पुरिने दाबी गरे ।

अनुमगनका क्रममा स्थानीयले भने पानी परेको बेला आफुहरुले निकै कष्टकर यात्रा गर्नुपर्ने भन्दै त्यही बेला अनुगमनमा आउन सुझाव दिएका थिए । सो क्रममा अनुगमनमा सहभागी काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेकपा नेता माधव कुमार नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका थिए ।

नेता तथा मन्त्रीहरुको अनुगमन र निर्देशन पालना हुनेमा विश्वस्त हुन सक्ने अवस्था छैन । यस्ता अनुगमन र निर्देशन विगतमा पनि दिइएको थियो, जुन कार्यान्वयन भएन । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासीले स्थानीय तह सहित प्रदेश र संघको चुनाव भएको पनि यतिका दिन वितिसक्दा पनि विकासको अनुभूति गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot