Logo

कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईयो : मन्त्री खनाल



‘संविधान कार्यान्वयन हुन भारतमा त १५ वर्ष लाग्यो, हाम्रो पनि समय लाग्छ’
काठमाडौं, २५ साउन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् ।

उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाहमात्रै हो । यो त सरकारको आलोचना गर्ने बहानामात्रै हो।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने,‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । ४ विघाभन्दा बढि जग्गा राख्न नपाईने भनेर हल्ला फैलाईएछ । जबकी यो विषयमा सरकारले कहीँ कतैपनि बोलेको छैन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुनेगरि राम्रो कामहरु गर्ने सुनाए । उनले भने,‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाएको उनको दाबी छ । खनालले भने,‘दुवै छिमेकी राष्ट्रसँग अहिले सुमधुर सम्बन्ध भएको छ ।’

मन्त्री खनालले बाहिरबाट ल्याईने वस्तुहरुमा समेत नियमन गर्न जरुरी रहेको सुनाए । उनले भने,‘हामीले आँत्तिएर भन्दापनि नआँत्तिकन राम्रा कामहरु गर्न जरुरी छ । उनले भने्,‘कृषि, पर्यटन, उर्जा सबै क्षेत्रमा दिगो रुपमा विकास गर्नुपर्छ। आगामी ५ वर्षसम्म हामी दिगो विकासको जग हाल्छौं ।’

त्यस्तै फरक प्रसँगमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए । उनले थपे,‘कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरु निर्वाध रुपमा ढुवानी गर्न पाउनुपर्छ ।’

भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरि आफूले निर्देशन दिएको सुनाउँदै आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत् अवलोकनमा जाने पनि उनले सुनाए । कालीमाटीका स्टलहरु हेर्न लायकमात्रै नभएर त्यहाँ राखिएका तरकारी तथा फलफुल खानलायकको पनि हुनुपर्ने उनको भनाई छ ।

मुलुकको कुल ग्राहस्थमा कृषिको योगदानमा यसपटक वृद्धि हुने मन्त्री खनालले विश्वास दिलाए । खाद्य गुणस्तरको स्तरीयता कायम गर्न आफूले खाद्य सुरक्षा अभियान नै चलाईरहेको उनको भनाई छ । उनले भने,‘विभिन्न २२ वटा पानीका फ्याक्ट्रीहरुमा अहिले ताला लगाईएको छ । गलत गर्नेलाई हामी छोड्दैनौं । हामी मुद्दा चलाउँछौं ।’

खनालले खाद्य वस्तुमा शुद्धता ल्याउन राजधानी काठमाडौंसहित देशका मुख्यमुख्य सहरमा ६ महिना खाद्य सुरक्षा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

मासुमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य आफूले लिएको मन्त्री खनालको भनाई छ । उनले थपे,‘मासुमा हाम्रो देशलाई आत्मनिर्भर बनाउनुपर्छ । र, हुन सक्छ पनि । अहिले विदेशबाट आयातित मासुको पनि राम्रोसँग नियमन भएको छैन । मासुमा आत्मनिर्भर बनाउनको लागि कार्यक्रम चाहिएको छ । म त्यतातिर लागेको छु।’

नेपालमा संघीयता असफल हुन लागेको हो र ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘संघीयताको कार्यान्वयन हुँदैछ । भारतमा त संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन १५ वर्ष लाग्यो । केही वर्ष पहिलेसम्म त्यहाँ प्रदेशको राजधानी र केन्द्र राख्नेबारे विवाद थियो ।’

संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने उनको भनाई छ । उनले भने,‘मैले त धेरै अधिकारहरु तल प्रदेशमा पठाएको छु । पशु सेवा निर्देशनालय तल पठाएको छु । अब सुपर जोन र जोनपनि तल पठाउनेबारे सोचिरहेको छु ।’

खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताए । उनले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास नपाउने पनि स्पष्ट पारे ।

मन्त्री खनालले कृषि तथा पशुपछी विकास मन्त्रालयबाट सञ्चालनमा रहेका झण्डै ९० प्रतिशत परियोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसकेको र बाँकी १० प्रतिशत ठूला आयोजना निकट भविष्यमा हस्तान्तरण गर्ने योजना रहेको बताए ।

उनले स्थानीय तह र प्रदेश सरकारले गर्ने कतिपय निर्णय अलोकप्रिय हुनसक्छन् त्यसलाई केन्द्र सरकारले सचेत गराउन सक्ने भए पनि हरेक काममा अंकुश लगाउन नसक्ने र नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्