Logo

सरकार ! यो तस्विरको अर्थ के ?



साउन २७, काठमाण्डौ । मुलुकलाई खुल्ला दिशामुक्त बनाउने सरकारको अभियान चलिरहेको छ । अहिलेसम्म ५० भन्दा बढि जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।

सन् २०१२ देखि पाँच वर्षको अन्तरालमा पूर्ण रुपमा मुलुकलाई खुल्ला दिशामुक्त बनाउने लक्ष्यकासाथ योजनालाई अगाडी सारेको थियो । खुल्ला दिशामुक्त भन्ने वितिकै एक घर एक शौचालय न्युनतम सर्तको रुपमा लिईन्छ । यद्यपि कतिले चाहेर पनि सौचालय निर्माण गर्न सकेका छैनन् भने कतिले नचाहरै शौचालय नबनाएको पाइन्छ ।

खुला ठाउँमा दिशा पिसाब गर्ने प्रचलन तराई–मधेश क्षेत्रमा बढि देखिन्छ । त्यसैले सरकारले त्यस क्षेत्रमा शौचालय बनाउनका लागि अनुदानको समेत व्यवस्था गरेको छ ।

सरकारबाहेक विभिन्न संघसंस्थाले शौचालय बनाउनका लागि दिएका सामग्रीहरु दुरुपयोग भएकोसमेत भेटिएको थियो । यसले के बुझिन्छ भने कतिपय नागरिकमा अहिले पनि शौचालय बनाउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको छैन ।

शौचालय बनाउन दिएका सामग्रीको दुरुपयोग हुनुमा चेतनाको अभाव मात्रै कारक नभएर आधारभूत आवश्यकता पूरा नहुनु पनि हुन सक्छ ।

विहान र बेलुकाको छाक टार्न कठिन हुने परिवारले शौचालय बनाउनुको साटो दैनिक गुजवारालाई नै पहिलो प्राथमिकता दिनु स्वभाविक पनि मान्न सकिन्छ ।

यि भए, समग्र नेपालमा शौचालय निर्माण र प्रयोगको अवस्थाबारे संक्षित सन्दर्भ ।

यहाँ प्रस्तुत गर्न खोजिएको विषय उल्लेखित तस्विरसम्बन्धी हो ।

तस्विर कुन जिल्लाको हो, कुन परिवारको हो पहिल्याउन सकिएको छैन । सरसर्ती हेर्दा तराइ–मधेशको कुनै ठाउँको हो भन्न सकिन्छ ।

प्लाष्टिकका बोराले बारेर चिटिक्क देखिने गरी शौचालय बनाइएको छ । छेउमा अभिवाभक र बालक देखिएका छन् ।

खास कुरा यो हो कि, भर्खरै निर्माण सम्पन्न भएको शौचालयको भित्रैपट्टी पूजा गरिएको छ । यसलाई शौचालयको उद्घाटन पनि भन्न सकिन्छ । तर अस्पष्ट तस्विरमा उद्घाटनका लागि काट्न बाँधिएको रिवन नकाटिएको जस्तो देखिन्छ । सायद उद्घाटनका लागि बोलाईका अतिथी आउँदैछन् । यो अनुमान मात्रै हो ।

शौचालयको पूजा वा उद्घाटनलाई कसरी बुझ्ने ? सम्बन्धित व्यक्तिको संकुचित मानसिकता वा शौचालय बनाएकोमा खुशीयाली ?

जे सुकै होस्, शौचालयको उद्घाटन गरेको यो तस्बिर सामाजकि सञ्जालमा व्यङ्ग्यात्मक तरिकाले सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गर्नुको अर्थ शौचालय पूजा वा उद्घाटन गर्नु असामान्य हो ।

अझै अर्को रहस्य के पनि हुन सक्छ भने सरकारले दिएको अनुदानको दुरुपयोग गर्दा शौचालय भने निकै सामान्य बनेको पनि हुन सक्छ ।

विश्लेषण र तर्क जे पनि हुन सक्छ । तर २१ औँ शताब्दीमा नेपाली नागरिक कति पिछडिएका छन् भन्ने कुरा यो तस्विरले स्पष्ट पार्न सक्छ ।

अब सरकारतिर फर्कियौँ, खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम संचालन गर्दा कति बजेट सकियो ? कतिवटा शौचालय बने र कति बने ? सायद हिसाबकिता छैन । भ्रष्ट कर्मचारी तन्त्रका कारण जनमुखी बजेटको सदुपयोग हुन नसकेको यथार्थ सबैलाई थाहा छ ।

यो शौचालयको पूजा वा उद्घाटन कसरी र कसले गर्यो स्पष्ट छैन । तर जनताको पिर मर्का बुझ्न नसक्ने मन्त्रीहरु, जो मौका मिल्यो भने गाई भैँसीको गोठसमेत उद्घाटन गर्न पुग्छन्, कुनै एक मन्त्रीलाई नै यो शौचालय उद्घाटनमा निम्तो दिएको भए यो तस्विरका रहस्यहरु खुल्ने थिए होलान् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot