Logo

सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान चलाउँछु : डा. शेखर कोइराला



डा. शेखर कोइराला, नेता, नेपाली कांग्रेस

पछिल्लो समय नेपाली कांग्रेसका कार्यकताको मनोविज्ञान बुझ्नुभएको छ ?
निर्वाचनपछि कार्यकर्ताहरु हतोत्साहित र निरुत्साहित भएको पाएँ ।

अब के गर्ने त ? निराश भएका कार्यकर्ताको आत्मबल बलियो बनाउनुपर्ला नि ?
मिहिनेत गर्दै जाउँ राम्रो समय आउँछ भनेको छु । सम्झाएको छु ।

कार्यकर्ताले नेतृत्वप्रति के गुनासो गरेका छन् ?
गुनासो त नेतृत्वप्रति मात्रै नभएरु हामी सबैप्रति छ । किनभने हामीले पार्टीलाई मजबुत बनाउन सकेनौँ । जनतालाई सेवा दिन सकेनौँ ।

नेपाली कांग्रेसले जनतालाई किन खुशी पार्न सकेन ?
हाम्रो संगठन कमजोर नै भयो । अर्को कुरा सरकारको नेतृत्व गर्दा वा सरकारमा सहभागि हुँदा कांग्रेसले गरेका कमी कमजोरीहरु नै मुख्य कारण हो । तर यसलाई चुक्यो भन्न मिल्दैन । चुनावमा हुने हारजितलाई पनि स्विकार गर्नुपर्छ ।

नेतृत्वमा के कमजोरी देख्नुहुन्छ ?
नेतृत्वले जनतामा आशा जगाउनसक्नुपर्छ । तर कांग्रेस सरकारमा हुँदा गलत कामहरु धेरै गर्यो । जुन कुरा जनताले बुझेका थिए । त्यसैले नेतृत्वले आशा जगाउन सकेन भने कुनै पनि पार्टी अगाडि बढ्न सक्दैन ।

पार्टी र नेतृत्वमा कमजोरी छ भन्नुहुन्छ, तर अहिलेको अवस्थाबाट पार्टीलाई परिवर्तन गर्ने कुनै संकेत देखिदैन नि ?
सभापति शेरबहादुर देउवामा ईच्छाशक्ति भएन । महासमिति बैठक बोलाउने भनिएको छ । तर सभापतिले वास्तै गर्नुहुन्न । महासमिति बैठकमा नेतृत्वको आलोचना हुन सक्छ । त्यो त स्विकार गर्न सक्नुपर्यो नि ।

नेतृत्व परिवर्तन गर्न सकिदैन ?
नेतृत्व परिवर्तन भनेको विधानलाई टेकेर गर्नुपर्ने हुन्छ । त्यसै फालौँ भनेर हुँदैन ।

चुनाव लगत्तै विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आवाज उठेको थियो । अहिले त सेलायो नि ?
त्यसरी पनि हुँदैन । मैले त पहिलो महासमितिको बैठक गरौँ भनेको छु । महासमिति बैठकले विधान संशोधन गरेर महाधिवेशनमा जानुपर्छ । तर सभापति देउवाले यसप्रति चासो देखाउनुभएको छैन । महासमिति बैठक बोलाउनै सक्नुभएको छैन ।

त्यसो हो भने नेतृत्व असक्षम भयो ?
म असक्षम भन्दिन, उहाँसँग इच्छाशक्ति नभएको हो । नेतृत्वले पार्टीलाई विधानसम्मत चलाउनै सकेन । कुनै कार्यक्रम नै गर्न सकेन । कार्यकर्तालाई कति पीडा छ भन्ने कुरा नेतृत्वले बुझेको छैन ।

गुट उपगुटले कांग्रेसलाई कमजोर बनायो भन्छन् नि ?
गुट उपगुट हुनुलाई म खराब भन्दिन । जो ग्रुपमा छन्, उनीहरुले गलत कामलाई पनि सही हो भनेका छन् । यो चाँही नराम्रो पक्ष हो ।

तपाईले पनि त गुट बनाउनुभएको छ नि ?
मैले नेपाली कांग्रेसको गुट बनाएको छु । मेरो आफ्नै गुट छैन ।

अघिल्लो महाधिवेशनमा त रामचन्द्र पौडेलको गुटमा लाग्नुभएको होइन ?
गुट हौइन । पौडेललाई सभापति बनाउनुपर्छ भनेर प्रयास गरेको हुँ । मैले उहाँलाई भोट हालेको हुँ । तर सकिन ।

आगामी महाधिवेशनमा कसलाई सभापति बनाउने प्रयास गर्नुहुन्छ ?
यसको जवाफ अहिले दिन सक्दिन । मैले बनाएर मात्रै हुँदैन । सभापतिका लागि जो पनि चुनाव लड्न सक्छ । तर महाधिवेशन प्रतिनिधीले कसलाई बनाउँछन थाहा छैन ।

रामचन्द्र पौडेललाई सभापति बनाउने सहमति भएको छ भन्ने सुनिन्छ नि । देउवा र पौडेल पक्षबीच ?
कसले स्विकार गर्छ ? अहिले नै भनेर हुँदैन । कांग्रेसको नेतृत्व गर्न को सक्षम छ भन्ने कुरा महाधिवेशन प्रतिनिधीले गर्छन् । अहिले नै कसैले सहमति गर्दैमा हुँदैन ।

तपाईले महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउँछु भन्नुभएको थियो । किन भएन ?
आवश्यक पर्यो भने त्यो पनि गरौँला । समय आउँछ ।

तर तपाईको अभियानमा एक तिहाई पुग्छ त ?
के कुरा गर्नुभएको ? बहुमत पुग्छ । महासमितिका सदस्यहरु कुनै पनि गुटमा लाग्दैनन् ।

सम्बन्धित समाचार : 

(प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग गरिएको कुराकानी)


प्रतिक्रिया दिनुहोस्