Logo

विप्लवको बन्दमा बमैबम, स्कुल बस र ट्रक जलाइयो



साउन २९, काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले भक्तपुरका दुई स्थानमा राखेको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको छ । अरनिको सडकखण्ड अन्तर्गत सूर्य्विनायक काँल्हाचास्थित सडक किनारमा र मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित ६ लेन सडकको सर्भिस ट्रयाकमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो ।

शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले करिब बिहान ६ बजे दुवै स्थानमा भेटिएको शंकास्पद प्रेसर कुकर बम निष्क्रिय पारेको हो ।

अज्ञात समूहले महेन्द्रराजमार्ग अन्तरगत पूर्वी नवलपरासीको गैंडाकोटमा रोकिराखेका २ वटा ट्रकमा आगजनी गरेका छन् ।

महेन्द्रराजमार्गको रत्न पेट्रोलपम्प नजिक रोकिरहेको ना २ ख २५४८ नम्बर र पराल बोकेको ना २ ख ८४८७ नम्बरको गाडिमा आगजनी गरेको हो ।

सोमबार राति १ बजेतिर मुख छोपेर आएका ४ जनाले गाडिमा आगजनी गरेर भागेका थिए। प्रहरीको सीसीटीभीमा आगजनी गर्नेहरुको गतिबिधि देखिएपछि तत्काल पुगेको प्रहरीले नारायणी नदी किनारमा ट्रक लगेर दमकलको सहयोगबाट आगो निभाएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । प्रहरीको सक्रियताकाले दुवै ट्रकको इन्जिन जोगिएको छ ।

यसैबीच बन्दको सामान्य प्रभाव रुपन्देहीमा पनि परेको छ । बन्दका कारण राजमार्ग तथा हुलाकी मार्गमा चल्ने सवारी ठप्प छन् । शिक्षण सस्था तथा बजारसमेत खुलेको छैन । विभिन्न क्षेत्रमा विष्फोटक पदार्थ भेटिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा रहेको तुल्बुलीया पुलमा भेटिएको विष्फोटक पदार्थ सेनाको डिष्पोजल टोलीले विष्पोज गरेको छ ।
यसअघि हिजो साँझ बुटवलको भारतीय पेन्सन क्याम्पमा विष्फोट भएको थियो । बिष्फोटबाट सामान्य क्षति भएको थियो । यस्तै बुटवल, तिलोत्तमा, देवदह लगायतका क्षेत्रमा समेत शंकाष्पद वस्तु भेटिएको छ ।

बाजुराको मार्तडीस्थित जिल्ला बडिमालिका नगरपालिकाको गेटमा पनि शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको गेटमा राखिएको कालो झोलाभित्र टिनको डिब्बामा शंकास्पद बस्तु फेला परेको हो ।

ललितपुरको रिङरोड क्षेत्रका चार स्थान मध्ये ग्वार्को्स्थित गुण सिनेमा नजिकै र बटुकी भैरम मन्दिर अगाडि राखेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot