Logo

प्रधानमन्त्री ओलीले चन्द्रमामा रकेट पठाएको तस्विर किन राख्नुभएन ?



साउन २९, काठमाण्डौ । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ ।

‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको छ ।

सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा कुनै भूमिका लेखिएको छैन । कुनै कामहरु गर्न नसकिएको वा किन हुन सकेन भन्नेबारेमा जनगुनासाहरुमाथि कुनै टिप्पणी नगरी के के कामहरु भए भन्ने विवरणमात्रै प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले सरकारले ५ महिनामा गरेको कामको प्रतिवेदनलाई सामान्य भएको टिप्पणी गरेका छन् ।

यही तरिकाले काम गर्ने हो भने ओली नेतृत्वको सरकारले ५ वर्षमा पनि धेरै काम गर्न नसक्ने जिकिर गरे ।

जनतालाई सपना धेरै बाँड्ने तर काम भने नगर्ने प्रवृत्ति देखिएको भन्दै खड्काले प्रधानमन्त्री ओलीप्रति व्यङ्ग्य गरे ।

“मलाई त लागेको थियो, प्रधानमन्त्री केपी ओलीले चन्द्रमामा रकेट पठाएको तस्विर राख्नुहोला, तर बुलेट ट्रेन राख्नुभएछ ।” खड्काले व्यङ्ग्य गर्दै भने ।

सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाउने लगायतका केही कामहरु सुरु गरे पनि त्यसको नतिजा नदेखिएको खड्काको आरोप छ ।

प्रतिवेदनमा उल्लेख गरिएका विषयहरु पनि अस्पष्ट रहेको उनले बताए । “सुन तस्करको जालो तोडिएको दाबी गरिएको छ । तर ३३ किलो सुन तस्करको अनुसन्धान कहाँ पुग्यो ?” खड्काले प्रश्न गरे ।

प्रतिवेदनमा सुन्दर तस्विरहरु मात्रै राखेर जनतासँग सरकारले गठीको व्यापार गरेको खड्काको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्