Logo

प्रदेश सरकार जनताको घरघरमा पुगेको छ : मन्त्री रामनरेश



साउन २९, काठमाण्डौ । प्रदेश नम्बर दुईका पर्यटन मन्त्री रामनरेश रायले जनताले परिवर्तनको अनुभूति गरेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायले अहिले तत्काल स्रोत साधन नभएकाले ठूला लगानी गर्न नसके पनि जनता निराश नभएको बताएका हुन् ।

“सरकारसँग जति स्रोत साधन छ, त्यसको व्यापक रुपमा जनताले उपयोग गरिरहेका छन् । जनताको घरघरमा काम पुगेको छ ।” उनले भने ।

संघीयता कार्यान्वयनमा षडयन्त्र भएन भने सबै प्रदेशले सफलतापूर्वक काम गर्न सक्ने मन्त्री रायको तर्क छ ।

अहिले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिइएको भन्दै उनले संघीयतालाई सफल बनाउनका लागि अधिकार थप्नुपर्ने बताए ।

प्रदेश नम्बर दुईका राज्यमन्त्री अभिराम शर्मालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको रायको आरोप छ ।

उच्च अदालत जनकपुरले साउन १५ गते राज्यमन्त्री शर्मालाई पक्राउ गर्न महोत्तरी जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो । पत्र पाएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई खोजी गरिरहेको थियो ।

हिजो विहान शर्मा महोत्तरी जिल्ला अदालतमा हाजिर भएका थिए । राजपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि राज्यमन्त्री शर्मालाई अदालतमा हाजिर गराएको बताइएको छ ।

सशस्त्र प्रहरी थमन विकको हत्याका आरोपी समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्