काठमाडौं, २९ साउन । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीलाई लिएर गम्भिर आलोचना भएको छ ।
सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातमा सबै मन्त्रीहरुलाई अब आफूले मन्त्रीहरुको कार्यसम्पादन मुल्यांकन गर्ने भन्दै आक्रोश पोखेका थिए ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई दिएको कडा निर्देशन उल्लेख गर्दै स्रोतले भन्यो,“अब म मन्त्रीहरुको मुल्यांकन गर्छु । तपाईहरुले अब जनतालाई प्रत्यक्ष सेवा दिने र परिवर्तनको अनुभुति दिनेगरि काम गर्नुपर्यो । पाँच महिना वितिसक्यो, अब तपाईले राम्रो काम गर्नुपर्छ ।”
मन्त्रीहरुलाई उनले सम्बन्धित मन्त्रालयले संविधानमा उल्लेख भएबमोजिम र तोकिएकै मितिमा सबै ऐन तथा कानूनहरु बनाईसक्नपनि निर्देशन दिएका थिए । त्यस्तै संसदमा मन्त्रीहरुको प्रभावशाली उपस्थिति हुनुपर्ने ओलीको भनाई थियो ।
त्यस्तै बैठकमा अरु मन्त्रीहरुले पनि अर्थमन्त्री खतिवडाको करसम्बन्धी प्रष्ट विचार नआएको गुनासो पोखेका थिए । अन्य मन्त्रीहरुले अर्थमन्त्रीबारे गुनासो पोखिरहेकै बेला प्रधानमन्त्री ओलीले पनि करबारे जनतालाई स्पष्ट पार्न निर्देशन दिए । त्यतिमात्रै नभएर ओलीले अहिले कर पनि सोचेको जस्तो नउठेकोप्रति अर्थमन्त्रीको ध्यानाकार्षण गराएको स्रोतको दाबी छ ।