प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन, मिथिला भोजन र पान खुवाउने तयारी
भदौ २, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री बन्दा मधेशी जनताको मन दुख्ने गरी बचन लाए ।
मधेश आन्दोलनका बारेमा निकै खरो र गैर जिम्मेवार अभिव्यक्ति दिएर विवादमा आएका ओलीसँग मधेश केन्द्रित दलका नेता मात्रै होइन, जनता पनि रुष्ट थिए ।
तर समय फेरिएको छ । दोस्रो पटक प्रधानमन्त्री बन्दा उनी दुई तिहाई बहुमतको समर्थनमा छन् । तर यो दुई तिहाई समर्थन प्राप्त गर्नमा उनलाई तिनै मधेशी दलले सहयोग गरेका छन् ।
विगतमा तत्कालिन नेकपा एमाले र मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र रजपाबीच तितो सम्बन्ध थियो । अहिले भने सत्ताको लोभले फोरमले ओलीलाई राम्रो देख्न थाल्यो । राजपाले पनि सरकारमा जाने बाटो खुलाउनका लागि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दियो ।
फोरम र राजपाले संविधान संशोधनको माग गरिरहेका छन् । विगतमा दुई दलले भने जसरी कुनै पनि हालता संविधान संशोधन नगर्ने भनेर अडान लिएका ओली अहिले लचक देखिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मधेशी दलले भनेअनुसार संविधान संशोधनको प्रयास भयो । तर तत्कालिन नेकपा एमालेले असफल बनायो ।
तत्कालिन एमाले र तत्कालिन माओवादीबीच पार्टी एकता भएपछि अहिले नेकपाले सरकार चलाईरहेको छ । मधेशी दललाई आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले आश्वासन दिएका छन् ।
यसैबीचमा आज प्रदेश २ को प्रदेशसभा बैठकलाई ओलीले सम्बोधन गर्दैछन् । ओलीको सम्बोधनमा मधेशी जनतालाई हेर्ने दृश्टीकोण र संविधान संशोधनबारे के भन्लान भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
ओलीको मधेश अर्थात प्रदेश नम्बर दुईको सभालाई गर्ने सम्बोधनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा गरेको सम्बोधनसँग जोडेर पनि हेरिएको छ । मधेशप्रति नरम देखिदै आएका मोदीले मधेशी जनतालाई केही समय अघि नेपाल भ्रमणमा आएका बेला जनकपुरबाट सम्बोधन गरेका थिए ।
विगतमा मोदी र ओलीको सम्बन्ध पनि निकै चिसो थियो । अहिले दुई प्रधानमन्त्रीबीचको अविश्वास पनि हट्दै गएकोले ओलीले मोदीलाई थप खुशी पार्नका लागि संविधान संशोधन गर्न तयार हुन्छन् कि भन्नेसम्मको अनुमान गरिएको छ ।
आज ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ ।
७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विभिन्न प्रदेशमा सम्बोधन गरिसकेका छन् ।
संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तथापि, विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ ।
त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।
प्रदेशसभामा सम्बोधनपश्चात प्रधानमन्त्री ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन खुवाउने तयारी छ ।
प्रधानमन्त्रीलाई दाल, भात, तरुवा, तरकारी, करही बरी र माछालगायतका मिथिला भोजन खुवाइने छ । खानापश्चात मिथिला विशेष पानसमेत खुवाइने तयारी छ ।
प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपश्चात तत्कालीन नेकपा माओवादीका दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई प्रधानमन्त्री ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभामा हुने कार्यक्रममा प्रम ओली र प्रचण्ड संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ ।
विगतमा ओलीले आफूलाई पहाडे समुदायको मात्रै नेताको रुपमा प्रस्तुत गरेका थिए । तर अहिले उनी केही परिवर्तन भएको पाइन्छ ।
गत बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगे बाहेक प्रधानमन्त्री ओली चार वर्षयता पार्टी वा सरकारी कामका लागी प्रदेश २ का जिल्लामा गएका छैनन् । त्यसैले प्रदेश २ मा प्रधानमन्त्री ओलीको सम्वोधनलाई महत्वका साथ हेरिएको छ ।
यस्तो अवस्थामा विगतमा मधेशी दलले अघि सारेको संविधान संशोधनको मागलाई ठाडै अस्विकार गरेका ओलीले अहिले के गर्छन्, हेर्न भने बाँकी नै छ ।