Logo

मधेशमा ओली : विगतको रुखो बोली कहाँ हरायो ? (भिडियोसहित)



भदौ २, काठमाण्डौ । कुनै समय केपी ओली र मधेशवादी दलबीचको सम्बन्ध संकटग्रस्त थियो । मधेशवादी दलले गरेको आन्दोलन अघि सारेका मागप्रति ओली निकै नकारात्मक थिए । मेधशवादी दल पनि ओलीको बोली र व्यवहारप्रति आक्रोषित थिए । तर अहिले भने प्रधानमन्त्री ओली मधेशसँग नजिक हुने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री बन्दा मधेशी जनताको मन दुख्ने गरी बचन लाए । मधेश आन्दोलनका बारेमा निकै खरो र गैर जिम्मेवार अभिव्यक्ति दिएर विवादमा आएका ओलीसँग मधेश केन्द्रित दलका नेता मात्रै होइन, जनता पनि रुष्ट थिए । तर समय फेरिएको छ । दोस्रो पटक प्रधानमन्त्री बन्दा उनी दुई तिहाई बहुमतको समर्थनमा छन् ।

तर यो दुई तिहाई समर्थन प्राप्त गर्नमा उनलाई तिनै मधेशी दलले सहयोग गरेका छन् । विगतमा तत्कालिन नेकपा एमाले र मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र रजपाबीच तितो सम्बन्ध थियो । अहिले भने सत्ताको लोभले फोरमले ओलीलाई राम्रो देख्न थाल्यो । राजपाले पनि सरकारमा जाने बाटो खुलाउनका लागि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दियो । फोरम र राजपाले संविधान संशोधनको माग गरिरहेका छन् । विगतमा दुई दलले भने जसरी कुनै पनि हालता संविधान संशोधन नगर्ने भनेर अडान लिएका ओली अहिले लचक देखिएका छन् । शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले मधेशवादी दलको मागअनुसार संविधान संशोधन गर्न सकिने आश्वासन दिएका हुन् । यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोहोर्याए ।

उनले हरेक प्रदेशको आ–आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे । नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने ओलीको भनाई थियो । उनले भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताएका छन् । ओली प्रदेश नम्बर २ मा पुगेर भाषण गर्दा केही मधेशवादी नेताहरुले भने बहिष्कार गरे । ओलीले सम्बोधन गर्ने सभा सुरु हुनासाथ राजपाका उपेन्द्र महतो, विशेश्वर प्रसाद यादव र गौरी नारायण साहले बैठक बहिस्कार गरेर प्रदेश सभाबाट बाहिरिएका थिए ।

तर ओलीले सम्बोधन गर्दै विभिन्न योजना र आश्वासन सुनाए । ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोर्होयाएका छन् । उनले हरेक प्रदेशको आ–आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे । यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए ।

उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे । यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ हजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ । यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो मित्रता राम्रो भएको बताउँदै दुई छिमेकीबीचको सम्बन्ध थप मजबुत बनाउने जनाए ।

उनले सरकारको उद्देश्य समृद्ध नेपाल सुखी नेपाल भएको र यो दुई छिमेकी ले पनि यही चाहेको बताए । यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा मल कारखाना खोलिने बताए । उनले उखु कृषकको सवालमा विशेष प्याकेज ल्याउने आश्वासन दिए । उनले किसानलाई अनुदान दिने पनि बताएका छन् ।

उनले रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । जनकपुर फोहरमुक्त बनाउन सरकारले आवश्यक पहल गर्ने सम्बोधनको क्रममा ओलीले बताएका छन् । ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फोहर व्यवस्थापनमा समस्या भएकोले जमीन खोज्न पहल सरकारले गर्ने उनको भनाइ थियो । सीप विकास तालिम दिएर स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादनगरिने पनि ओलीको भनाइ छ ।

बाबु वा आमा एक जनाको नेपाली नागरिकता भएको छोराछोरी जन्मको अधारमा नागरिकता पाउने जानकारी पनि उनले दिए । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने उनको भनाई थियो । सबै प्रदेशको सभालाई सम्बोधन गर्ने योजनाअनुसार ओलीले प्रदेश दूईमा पुगेर सम्बोधन गरेका हुन् ।

ओलीको सम्बाधेनले मधेशी जनताको मन जित्न सक्यो वा सकेन, त्यो भने हेर्न बाँकी नै छ ।



प्रतिक्रिया दिनुहोस्