भदौ ५, काठमाण्डौ । सरकारी अनुगमनको बिरोधमा तरकारी व्यवसायी आन्दोलनमा नै गए । मंगलबार काठमाडौंको मुख्य कालिमाटी तरकारी तथा फलफूल बजार आंशिक रुपमा मात्रै खुलेको थियो ।
विचौलिया र व्यापारीले उपभोक्तालाई ठगेको आरोपमा सरकारले अनुगमन गरेको भन्दै तरकारी व्यापारी आन्दोलित भएका हुन् । यद्यपी आजै उनीहरुले बजार बन्द गर्ने निर्णय स्थगित गरेका छन् ।
कालीमाटी तरकारी बजारका केही स्थानीय कृषकबाहेक अन्य ब्यापारीले कालिमाटीमा तरकारी बिक्री वितरण रोकेका छन् । कालिमाटीकै ब्यापारीहरुले बिक्री वितरण मात्रै रोकेपछि काठमाडौंमा तरकारी आपूर्ति पनि घटेको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ ।
कालीमाटीमा तरकारी व्यापार गर्दै आएका मानबहादुर थिङले त अनुगमनमा आउने सरकारी टोलीका सदस्यलाई जुत्ताको माला लगाइदिने चेतावनी दिए ।
“व्यावसायीले बिचौलीया गरेको प्रमाण सहित आए हामी जुत्ताको माला लगाउन तयार छौँ । यदि प्रमाण नआएमा अनुगमन टोलिलाइ नै जुत्ताको माला लगाइदिन्छाँै ।” उनले भने ।
तरकारी व्यापारमा आफूहरुले उपभोक्ता मर्कामा पर्ने गरी कुनै पनि काम नगरेको व्यापारीहरुको दाबी छ । व्यापारमा हुने घाटालाई सबैले नजरअन्दाज गरेर हुँदै नभएको कुरालाई प्रचार गरिएको भन्दै उनीहरु आक्रोषित बनेका छन् ।
कालिमाटीमा ब्यापारीहरुले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै सञ्चारकर्मीलाई पनि प्रवेश गर्न र फोटो भिडियो खिच्न अवरोध गरेका छन् । अन्य दिन करिब ६ सय ५० टन तरकारी भित्रिने कालिमाटी बजारमा आज करिब १०० टन तरकारी मात्रै भित्रिएको छ । सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति विभागको टोलीलाई भित्र थुनेर व्यापारीले अवरोध गरेका थिए ।
उपभोक्ता अधिकारकर्मीले भने मनपरी गर्न नपाएको झोकमा बजार नै बन्द गरेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन् । तरकारी व्यवसायमा बिचौलियाको काम गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले जोड दिए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसाय गर्दा नीति नियमभित्र रहनुपर्ने भए पनि कालीमाटी तरकारी बजारका व्यापारीले मनोमानी गरेको आरोप लगाएको छ ।
कालीमाटी तरकारी बजार नेपालकै सबैभन्दा ठूलो तरकारी बजार हो । काठमाण्डौ उपत्यकाका उपभोक्ताले यही बजारबाट वितरण गरिएको तरकारी प्रयोग गर्ने गर्दछन् । तर यो बजार व्यवस्थित हुन नसक्दा बेलाबेलामा विवाद हुने गरेको छ ।