Logo

निर्मला हत्या प्रकरण : वास्तविक अपराधी उम्किदैन, अनुसन्धान तलमाथि हुँदैन : एसपी कठायत



भदौ ८, काठमाण्डौ । गृह मन्त्रालयले कन्चनपुरको प्रहरी प्रमुखमा कुवेर कठायत र जिल्ला प्रशासन प्रमुखमाम तारानाथ अधिकारीलाई पठाएको छ । तारानाथ अधिकारी केही समय अघिमात्र कास्कीको सिडियोबाट कारागार विभागमा सरुवा भएका थिए । कठायत यसअघि महोत्तरीको प्रमुख थिए ।

कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।

निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण बाहिर गएपछि महेन्द्रनगरमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि शुक्रबार बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो ।

आन्दोलनकारी र प्रशासनबीच आज वार्ता हुने बताइएको छ । एसपी कुवेर कठायतले हत्या प्रकरणको समस्या समाधान उन्मुख भएको बताएका छन् ।

घटना संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने कठायतले बताए । “जनताको सेवामा खटिने संगठनले जनताकै हितमा काम गर्छ । वास्तविक अपराधी उम्किदैन । अनुसन्धान तलमाथि हुँदैन ।” कठायतले भने ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्