Logo

पाइलट नहुँदा निगममा सात बिमान ग्राउन्डेड, उडान सेवा प्रभावित



भदौ ८, काठमाण्डौ । प्राविधिक समस्या देखाएपछि नेपाल बायुसेवा निगमका आन्तरिक तर्फका सात बिमान ग्राउन्डेड भएका छन् । नियमित मर्मत नहुँदा र विमान मर्मतका लागि दक्ष जनशक्तिको अभावमा निगमका विमान लामो समय ग्राउण्डेड हुँदै आएका छन् ।

आन्तरिकतर्फ उडान गरिरहेका ९ मध्ये ७ विमान ग्राउण्डेड हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई आन्तरिक उडान तर्फ ध्यान दिन पटक पटक निर्देशन दिएपनि समस्या समाधान हुन नसक्दा विमान लामो समय ग्राउण्डेड हुँदै आएका हुन् । आन्तरिक उडानतर्फ कमजोर रहेको स्वीकार गरेको निगमले ९५ प्रतिशत डोमेस्टिक फ्लाइटको हिस्सा निजी एयरलाइन्सले लिएको जनाएको छ ।

निगमले आन्तरिक उडानतर्फको जिम्मेवारीबाट उम्किन नपाउँने भन्दै सुधार गरेर अघि बढ्न मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नहँदा निगम थप धरासायी बन्ने गरेको छ । मन्त्रालयले निर्देशन दिएको केही दिनमै निगमका आन्तरिकतर्फ उडान गरिरहेका अधिकांश विमान ग्राउण्डेड भएका छन् । दुई मात्रै विमान सञ्चालनमा रहेपछि निगमको आन्तरिकतर्फको उडान सेवा थप प्रभावित भएको छ । चीनबाट ल्याएइका १७ सिट क्षमताको वाई–१२–ई र ५६ सिट क्षमताको एमए–६० विमानमात्रै सञ्चालनमा छन् ।

निगमले आफ्ना सबै विमान सञ्चालनमा रहेको अवस्थामा २३ आन्तरिक र ८ अन्तर्रा्ष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । चीन सरकारको सहुलियत ऋण र अनुदानमा ल्याइएका चिनियाँ विमान मर्मतका लागि चीन सरकारले स्पेयर पार्ट्स र मर्मतका लागि जनशक्ति काठमाडौंमै उपलब्ध गराउने भने पनि ढिलो गर्दा चिनियाँ विमान निगमका लागि सेतो हात्ती सरह भएका छन् । एमए–६० एउटा विमान सञ्चालनमा रहे पनि एउटा ग्राउण्डेड भएको लामो समय भैसक्दा पनि सम्झौता अनुसार चिनियाँ कम्पनी नआउँदा निगमले यात्रुलाई सेवा दिन सकेको छैन ।

नेपाल एयरलाइन्सले दुर्गम पहाडी जिल्लालाई आन्तरिकतर्फको मुख्य गन्तव्य बनाउँदै आएको छ । निजी विमान कम्पनीहरुले यात्रुका चाप कम भएका विमानस्थलमा घाटा हुने भन्दै उडान गर्न नमान्ने ठाउँमा नेपाल एयरलाइन्सले ट्विअटरमार्फत् सेवा दिँदै आएको छ । नेपाल र चीन सरकारबीच दुईहजार ६९ सालमा भएको सम्झौताअनुसार दुई विमान अनुदान र चार विमान सहुलियत ऋणमा निगमले भित्रायाएको थियो ।

निगमले एमए–६० मोडलका दुई र वाई–१२ ई मोडलका ४ बिमान चीनबाट ल्याएको थियो । हार्विन एयरक्राफ्टद्वारा उत्पादित विमानमा प्राविधिक मर्मत तथा स्पेयर पार्टस् कम्पनीले नै काठमाडौंमा उपलब्ध गराउने सम्झौता गरेपछि निगमले विमान खरिद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्