काठमाण्डौ । आज गाईजात्रा । नेपालका वरिष्ठ हास्यव्यङ्ग्य कलाकारहरुले रिपोर्टर्स क्लबमा विशेष प्रस्तुति दिएका थिए ।कार्यक्रममा मनोज गजुरेल, दिपकराज गिरी, केदार घिमिरे, शैलेन्द्र सिंखडा, जितु नेपाल, दमन रुपाखेति, पल्पसा डंगोल, शिवशंकरप्रसाद रिजाल, राजाराम पौडेल लगायतको उपस्थिती थियो ।
उनीहरुले गाईजात्रा विशेष प्रस्तुतिमा देशको समसामयिक विषयका साथै पत्रकार ऋषि धमलामाथि चोटिलो व्यङ्ग्य प्रहार गरेका थिए ।प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, “यो संसारमा अहिलेसम्म वैज्ञानिकहरुले धेरै कुराको अविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।”
त्यस्तै गिरीले पनि धमलाको कटाक्ष गर्न भ्याए । रात दिन काममा मात्रै खटिने भन्दै गिरीले जहिले पनि बजिरहेन अर्लामसँग धमलाको तुलना गरे । गिरीले धमलाको प्रशंसा गर्दै भने, “हजार जिब्रा भएका शेष नागले पनि वर्ण गर्न नसक्ने, सायद यो ऋषि भन्ने जन्मसिद्ध नामले पनि होला । धमलासँग अभूतिपूर्व कला पनि छ ।”
त्यस्तै केदार घिमिरेले प्रस्तुतिका क्रममा धमलालाई आफ्नो पछाडि नै उभ्याएर व्यङ्ग्य गरे । उनले धमलाको नाम जोडेर गितसमेत गाएका थिए ।
उनको गित यस्तो थियो ।
ऋषि ऋषि ऋषि ए ऋषि धमला
कहिलेसम्म रोइरहने हाम्री निर्मला
घिमिरेल धमलालाई नचाउनसमेत भ्याए ।
उनले कार्यक्रम जनता जान्न चाहन्छन्का संचालकको तीन सेन्टिमिटर लामो नाक भएका भन्दै कटाक्ष गरेका थिए ।
त्यसैगरी श्रीकृष्ण सिंखडाले समसामयिक विषय उठान गर्दै नेताहरुको क्यारिकेचर गरेका थिए । उनले धमलाको प्रशंसा गर्दै जनता जान्न चाहन्छन् कार्यक्रम संचालन गर्ने शैलीको क्यारिकेचर गरेका थिए ।
धमलाले कार्यक्रमका क्रममा भन्ने गरेको हाम्रो बीचमा हुनुहुन्छ भन्ने थेगोलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए ।
“हाम्रो बीचमा हुनुहुन्छ । टेलिफोनमा कुरा भइराछ । मान्छे ३ सय किलोमिटर टाढा छ । कसरी बीचमा ?” उनले कटाक्ष गरे ।
जितु नेपालले प्रस्तुतिका क्रममा धमलाको पत्रकारिता क्षेत्रको उजागर गरे । केही महिनाअघि विमान बंगलादेशको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा भारतीय टिभीमा रिपोर्टिङ गर्दाको प्रसंग उठाएर नेपालले धमलामाथि हमला गरे ।
अंग्रेजिमा प्रश्न साधेको तर धमलाले हिन्दीमा जवाफ दिएको विषय त्यसबेला चर्चित भएको थियो । नेपालले कटाक्षका साथै विदेशी च्यानलले रिपोर्टिका लागि अरु पत्रकारलाई फोन नगरी धमलालाई नै गर्नु उनको सक्रियता र सफलता भएको बताए ।
“रिपोर्टिङका क्रममा हिन्दी बोलेको भनेर आलोचना पनि भयो । तर भनेको जिउँदो मान्छे हो । अंग्रेजि बोल्न जान्ने पत्रकारलाई किन फोन आएन ? किनकी ऋषि धमला जति सक्रिय अरु छैनन् ।” नेपालले भने ।
दमन रुपाखेतिले धमलाको नाक, आवाज र उचाइ सबै ठूलो भन्दै व्यङ्ग्य गरे । उनले धमलाको बोल्ने शैलीको क्यारिकेचर गरेका थिए ।
शिवशंकरप्रसाद रिजालले धमला र फुटबल खेलाडि मेसीबीचको समानता फरकपनलाई चोटिलो पारामा प्रस्तुत गरेका थिए ।
रिजालले विश्वकपमा मेसीले अर्जेन्टिनालाई जिताउन नसकेको उदाहरण दिदै उनले मेसीले देशका लागि केही पनि गर्न नसकेको र धमलाले पनि देशका लागि केही पनि गर्न नसकेको आरोप लगाए ।
मेसी र धमलाबीचको फरक प्रस्तुत गर्दै उनले भने, “मेसी अलिकती चिसो एसी, पत्रकार ऋषि धमला अलिकति बेसी, मेसीको बार्सिलोना क्लब छ ऋषिको रिपोर्टस क्लब छ । मेसीको तीनवटा श्रीमति छ ऋषिको एउटै श्रीमती ।”
अर्की कलाकार पल्पसा डंगोलले त ऋषि धमला आफ्नै श्रीमान भएको दाबी गरिन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा केही समय धमलासँगै काम गरेकी डंगोलले सन्दर्भ जोडेकी थिइन् ।
पहिला मुलाको सागको श्रीमती भन्ने गरे पनि पछिल्लो समय धमलाको श्रीमती भन्ने गरेको उनले बताईन् ।
राजाराम पौडेलले धमलाको लामो नाकप्रति व्यङ्ग्य गरे । उनले धमला आफ्नो बच्चादेखिको साथी भएको उल्लेख गर्दै सानो छँदा आफ्नो गालामा किस खाँदा नाकले घोचेको स्मरण गरे ।
उनले धमला पत्नी नायिका एलिजा गौतमसँग भेट हुँदा धमलाले किस खाँदा नाकले घोच्यो कि घोचेन भनेर प्रश्न गरेकोसमेत बताए ।
कलाकार तथा गायिका भूमिका शाहले धमलालाई पत्रकारिता क्षेत्रको खम्बा जस्तै भएको भन्दै प्रशंसा गरिन् ।