भदौ १२, काठमाण्डौ । १४ र १५ गते हुने विमस्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनका लागि अतिथीहरु आउने क्रम सुरु भइसकेको छ ।
सम्मेलनको एजेण्डा तय गर्न आज सचिवस्तरीय बैठक पनि बसिसकेको छ ।
पहिलोपटक नेपालले आयोजना गरेको सम्मेलनबाट नेपालले के कति फाइदा लिन्छ भन्ने कुरा चासोका साथ हेरिएको छ । तर विगतको इतिहास हेर्ने हो भने विमस्टेकको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ ।
यसपटकको सम्मेलनले दिने प्रतिफल के कस्तो हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । नेपालका प्रधानमन्त्री केपी ओलीले भने सम्मेलनबाट हुने फाइदाभन्दा पनि सम्मेलनका लागि आउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटलाई फलदायी बनाउने योजनामा छन् ।
ओलीले सम्मेलनका अवसरमा मोदीलाई भेटेर विश्वासमा लिने योजना बनाएका छन् । यसका लागि ओलीले वालुवाटारमा एउटा टिम नै बनाएर एजेण्डा तय गर्ने जिम्मा दिएको बताइएको छ ।
पछिल्लो समय नेपाल भारत सम्बन्धमा सुधार हुँदै गएको अवसरमा ओलीले विगतमा भएका समझदारी कार्यान्वयन गर्ने विषयमा छलफल गर्नेछन् ।