Logo

चिकित्सकको आन्दोलनले विरामी अलपत्र, समाधान के ?



काठमाण्डौ १७, काठमाण्डौ । सरकारले मुलुकी अपराध संहिता संशोधनगर्ने प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले सशक्त आन्दोलनका कार्यक्रम चलाइरहेको छ । संघको आह्वानमा आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द भयो । साथै संघले राजधानीको माइतिघर मण्डलाबाट विशाल जुलुस निकाल्नुका साथै विरोधस्वरुप नेपाल मेडिकल काउन्सिललाई चिकित्सक प्रमाणपत्र बुझाएको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग शुक्रबार सिंहदरबारमा भएको बैठकमा सकारात्मक परिणाम निस्कन नसकेकाले देशभरका चिकित्सकहरु हडतालमा उत्रनुपरेको बताए ।मुलुकी ऐनको संशोधनका साथै यसअघि सरकार र संघबीच भएको सम्झौता कार्यान्वयनको माग संघले राखेको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ मा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण भए घटनामा संलग्न दोषीलाई बिना धरौटी जेल चलानको व्यवस्था गर्नपनि संघले माग गरेको छ । जसअनुसार संघले आइतवार विरोध प्रदर्शन गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा प्रमाणपत्र बुझायो । साथै संघले सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनक कार्यक्रमसमेत घोषणा गरेको छ ।

संघले सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने, मंगलबार आकस्मिक बाहेकका अन्यअन्तरंग सेवामा बिरामीभर्ना बन्दगर्ने, बुधबारदेखि आकस्मिक बाहेकका अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिक बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायतका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने कार्यक्रम तय गरेको छ । संघको आइतवारको कार्यक्रममा देशका ख्याति प्राप्त चिकित्सकहरु समेत सहभागी भए ।

अघिल्ला आन्दोलन मान देखिने ठूला अस्पतालका चिकित्सकहरु यो पटक सडकमा उत्रिए । मुलुकी ऐनले चिकित्सकलाई अनावश्यक रुपमा अपराधीझैं चित्रित गरेको उनीहरुको विरोध छ ।मुलुकी अपराध संहितानिर्माण गरी चिकित्सकतथा स्वास्थ्यकर्मीलाई अपराधीक शैलीमा व्यवहार गरेको र यसले बिरामीको सहज उपचारमा कठिनाइ उत्पन्न गर्ने भएकाले दवाव स्वरुप आन्दोलन गरिएको वरिष्ठ क्यान्सर विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् ।

चिकित्सक संघले आयोजना गरेको विरोध सभामाविभिन्न पेशागत संगठन तथाचिकित्सक नेताहरुले मुलुकी ऐनको विरोध गरे । चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनमा उत्रिरहने चिकित्सक डा. गोविन्द केसीदेखि आफै अस्पताल खोलेर बसेका डा. बसन्त पन्तसम्म आन्दोलनमा देखिए । चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कार्यक्रमलाई यो पटक निजी अस्पताल तथानर्सिंग होम एशोसियसनले पनि साथदिएको छ ।

संघका अधिकारीहरु पनि आइतवारको प्रदर्शनमा सहभागी भए । उनीहरुले सरकारले मुलुकी ऐनमा संशोधननगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी सहित यथासक्य ऐन संशोध नगर्न माग गरे । विरोध प्रदर्शनपनि नेपाल मेडिकल काउन्सिलमा पुगेका नेपाल चिकित्सक संघका पदाधिकारीले काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापालाई डाक्टरहरुबाट संकलित प्रमाणपत्र हस्तान्तरण गर्यो । चिकित्सक संघले ५ हजारभन्दा बढि प्रमाणपत्र काउन्सिललाई बुझाइएको दावी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot