Logo

बिम्स्टेक सफल, महिला हिंसाका घटनामा सरकार असफलः सभापति देउवा



चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिएका थिए।

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उनले सार्कको पनि आफ्नै महत्व रहेको बताएका छन । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताएका छन ।

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताएका उनले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी गराए “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले बताएका छन ।

प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उनले भने, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी रहेको बताएका छन ।

अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot