Logo

काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ? फोहोरले गिज्याइरहेछ



भदौ १९, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै बारम्बार आलोचना भइरहेको छ । अस्तव्यस्त सडक र जताततै फोहोर थुप्रिदा जनताले सास्ती भोग्नु परेको आमगुनासो छ ।

तर, महानगर भने जनताका पीडा नदेखेझैं, नसुनेझैं लाचार छ । चुनावअघि गरेका गुलिया भाषणा बिर्सेका जनप्रतिनिधिले अरु त परै जाओस् राजधानीमा यत्रतत्र थुप्रिएका दुर्ग्न्धित फोहोरका थुप्रा समेत देखेका छैनन् ।

कती जोड जोड्को आवाजमा बाँडिएका थिए काठमाडौका गल्लिगल्लिमा स्मार्ट सिटीका सपना । तर, यो अहिले होइन चुनाव अघिको आवाज हो । लथालिङग फोहोरका थुप्रा, पानी आउँदा हिलो भएर हिंड्नै नसकिने, घाम लाग्दा धुलोको सास्ती । के यीनै हुन स्मार्ट सिटीका विशेषता ?

भर्खरैमात्र बिम्स्टेकको सम्मेलन भव्य रुपमा सम्पन्न भयो , छ वटा देशका राष्ट्र तथा सरकारप्रमुख नेपाल आए । दुईदिन आउने ति पाहुना हिंड्ने सडक दुलहीझैं सिँगारिए तर, यहीं बस्ने यही शहरमा नंग्रा खियाउने र देश भनेर माया गर्ने जनताको कहर उस्तै छ । शहर राजधानी जस्तो छैन, जताततै फोहोर थुप्रिएका छन् । तर, महानगर भने निजी क्षेत्रलाई फोहोर उठाउन जिम्मा दिएको गैरजिम्मेवार जवाफ दिन्छ । फोहोर व्यवस्थापन गर्ने कुन कम्पनीलाई दिइएको हो भन्ने समेत महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीलाई थाहा छैन ।

बाहिर टलक्क टल्किएको राजधानी भित्र भने कोतरिएको छ । बहिरी आवरण मात्र सुन्दर छ तर भित्री गुदी भने फोहोर जस्तै गन्हाएको छ । जसले गर्दा फोहोरको डङगुरबाट रोग पो फैलिने होकी भन्ने आशंका लिएर हिँड्नुपरेको छ । हिलाम्मे भएका भित्री सडकमा लडिन्छ कि भनेर डराउन पर्ने अवस्था छ । आफु बसोबास गर्ने वडा र महानगरमा बारम्बार पत्राचार गर्दापनि गुनासो नसुनेको सर्वसाधारणको गुनासो छ ।

भित्री सडकको सुधारको प्रश्न गर्दा गाडी तथा यात्रुको चाप हुने ठाउमा मर्मत सम्भार गर्दै छौ भनेर बनावटी जवाफ दिन्छन् , के भित्री सडक आसपासमा जनता बस्दैनन् ? के मनसुन मुख्य सडकलाई मात्र लाग्छ ? पीडा र प्रश्नले भरिएका छन् महानगरवासी ।

खानेपानी र ढलको काम सकिएपछी कालोपत्रे गर्ने जवाफ महानगरले दिएको छ । खानेपानी र ढलको काम पनि कहिले सकिन्छ भन्ने जवाफ कसैसँग छैन । फेरी मेलम्चीको कारण पनि देखाउलान् । जनप्रतिनिधि गैरजिम्मेवारी हुनु, कर्मचारीतन्त्र बेखबर हुनु र कुनै निकाय जनतासँग जवाफदेही नुहुनुको पीडा महानगरवासीले भोगेका छन् । सरकारको सम्वृद्ध नेपालमा महानगरवासीले कम्तिमा फोहोर त उठाइदेउ भनेर कतिञ्जेल हाहाकार गर्ने ?



प्रतिक्रिया दिनुहोस्