काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीले नेपाल र नेपाली जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, “कर्मचारीले पार्टीप्रति होइन, मुलुक र मुलुकवासीप्रति प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्ने मान्यता काङ्ग्रेसको छ ।”
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले वर्तमान सरकारले कर्मचारी संयन्त्रलाई पार्टीप्रति प्रतिबद्ध कर्मचारीतन्त्र बनाउन खोजिएको आरोप लगाउँदै पछिल्लो समयमा कर्मचारी संयन्त्र, न्यायालय र प्रहरी प्रशासनलगायत क्षेत्रमा बढ्दै गएको राजनीतिक हस्तक्षेपप्रति दुःख व्यक्त गरे ।