भदौ २२, काठमाण्डौ । राजनीतिक भ्रमणका लागि भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनको भारत भ्रमणले नेकपाभित्र भने तरङ्ग पैदा गरेको छ ।
दाहालको भ्रमणपछि नेपालको राजनीतिक समिकरण कस्तो बन्ने हो भन्नेसम्मको चिन्ता सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीमा देखिन्छ ।
दाहालले भारतमा नरेन्द्र मोदीलगायत उच्चस्तरीय भेटवार्ता गर्ने भएपछि यता ओलीले आन्तरिक छलफल गरेका छन् । आजै मात्र पनि ओलीले वालुवाटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।
दाहालले भारत भ्रमणपछि चिनकोसमेत भ्रमण गर्ने भएकाले उनको विदेश भ्रमणलाई ओलीले गम्भीरतापूर्वक लिएका छन् । दाहाल भारत जानुपूर्व पनि ओली निकट नेताहरुले भ्रमणबारे प्रश्न उठाएका थिए ।
भारत भ्रमणका क्रममा पनि दाहालले उच्चस्तरीय भेटबाट नेपालको राजनीतिक विषयमा कुनै न कुनै समझदारी गर्ने आशंका गरिएको छ ।
कतिपयले त दाहाल आफू प्रधानमन्त्री बन्नका लागि दिल्ली दौडाहामा लागेको आशंकासमेत गरेका छन् । पछिल्लो समय औसतभन्दा कम बोल्न थालेका दाहालको विदेश भ्रमणले तरङ्ग ल्याउनु स्वभाविक भए पनि सत्ताको चलखेल भने दाहालले नगने कतिपयको दावी छ ।
यद्यपी पार्टीभित्रको नेतृत्वसमेत पूर्ण रुपमा नपाएको र प्रधानमन्त्री पदबाट पनि ५ वर्षका लागि विमुख भएको अवस्थामा दाहाल शान्त भइरहन नसक्ने विषय नेकपाभित्र नै बहस हुने गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को कार्यकालका लागि प्रधानमन्त्री बन्ने सम्भावना रहेकाले दाहाल मोदीसँग नजिक भएर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्य लिएको हुन सक्ने अनुमान पनि गरिएको छ ।