Logo

राम कार्की र घनश्याम भुसालले दिए प्रधानमन्त्री ओलीलाई सच्चिन चेतावनी



भदौ २४, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरे ।
बुटवलको एक कार्यक्रममा बोल्दै कार्कीले मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार भए पनि मजदुरहरुको जीवन कष्टकर बन्दै गएको जिकिर गरे ।

कार्कीले राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै अहिलेको सरकार पनि ५ वर्ष नटिक्ने हो कि भन्ने आशंका गरे ।

यस्तै सत्तारुढ दलकै नेता घनश्याम भुसालले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।
नेतृत्वले माक्र्सवादी विचार र सिद्धान्त अनुरुप आफूलाई रुपान्तरण गर्न नसके कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार धरापमा पर्न सक्ने चेतावनी भुसालले दिएका छन् ।

समाजवादसम्मको गन्तब्य तय गरेको दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारका गतिविधि समाजवाद उन्मुख नदेखिएको भन्दै उनले नेतृत्वको यस्तै रवैया रहिरहे वर्तमान सरकार धेरै दिन टिक्न मुस्किल पर्ने समेत औंल्याए ।

कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह, राष्ट्रिय समितिद्वारा शनिबार रुपन्देहीको मणिग्राममा आयोजित गोष्ठीमा बोल्दै भुसालले पार्टी नेतृत्वलाई कार्यशैली बदल्न सुझाव दिए ।
दुई तिहाई बहुमतप्राप्त सरकार मात्रै उपलब्धि नभएको भन्दै उनले यसको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्