काठमाडौं २६ भदौ । राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा भिषण आगलागी भएको छ । आज बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण्मा आउन सकेको छैन । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अआगलागी भइरहेको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि ट्राभल्स एजेन्सीमा रहेका हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएका छन् । ग्यास पड्कीदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएको छ । आगलागीका क्रममा भाग्न खोज्दा केही स्थानीयबासी लडेर घाइते समेत भएका छन् । आगो लागेपछि झ्यालबाट हापफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि वीर अस्पताल पठायएको छ । अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।
स्थानीयबासी सागर तुलाधरका अनुसार मिनेट मिनेटको अन्तरमा पुरै ज्याथा क्षेत्र थर्किने गरी करिब ४० देखि ५० वटा अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए । क्षेत्रपाटीमा बस्दै आएका पत्रकार शोभित थपलियाका अनुसार अक्सिजन ग्यास सिलिन्डर विस्फोटको आवाजले ज्याथा र क्षेत्रपाटी क्षेत्रबासीबीच भागाभाग भएको थियो ।
ग्यास विस्फोटपछि त्यस क्षेत्रका मानिसहरू सबेरै बिहान घर छाडेर जमलतर्फ सुरक्षित स्थानमा निस्केका छन् । आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेका छन् । तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ ।