काठमाडौँ, २८ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि जापानी राजदूत मासामिची साइगोलाई अर्थमन्त्री खतिवडाले भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।
आर्थिक तथा सामाजिक विकासका लागि नेपालमा लामो समयदेखि सहयोग गर्दै आएको जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको भन्दै अर्थमन्त्री डा खतिवडाले आफूहरु आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए ।
अर्थमन्त्रीले डा खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत राजदूतलाई आग्रह गरेका थिए ।
सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली– बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
जापानी राजदूतले पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताएका थिए ।