काठमाडौँ, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप उड्दा पार्टी सभापति शेरबहादुर देउवालाई अहिले हाईसञ्चो भएको छ ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन गएको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन नेता पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले पत्रकार ऋषि धमलालाई जानकारी दिए । नेता पौडेल यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेता पौडेल नआउञ्जेलसम्म सभापति देउवालाई हाईसञ्चो भएको छ । नेता पौडेलले पार्टीको महासमिति बैठक डाक्न र अनुशासन समितिको बैठक निरन्तर दबाब दिँदै आएका थिए । तर, देउवा भने पौडेलको आग्रह बेवास्ता गर्दै बैठक सार्न केन्द्रीत छन् ।