Logo

यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ : प्रचण्ड



काठमाडौँ, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आर्थिक विकास र समृद्धिको एजेण्डामा राजनीतिक दलबीच समान विचार र धारणा रहेकाले आर्थिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन् ।

कारोबार दैनिकले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले राजनीतिक दलबीच समान धारणा रहेकाले व्यापारी तथा व्यवसायी समूहले पनि त्यसमा सघाउनुपर्ने बताए ।

जनतालाई आश्वस्त पार्ने गरी विकासका लागि मौलिक नीति र कार्यक्रम तय गर्दै जानुपर्ने र त्यसले मात्रै आर्थिक विकास र समृद्धिको मार्ग चित्रलाई फराकिलो बनाउन सक्ने उनको भनाई छ ।

उनले भने,“राजनीतिक परिवर्तको साक्षी र नेतृत्वकर्ताको हैसियतले यस पटक पनि हामी सिर्जनात्मक भएर नयाँ शुरुआत गर्न सकेनौँ भने यो देशको भविष्य के होला भन्ने चिन्ता लागेको छ ।”

उनले विगतमा पञ्चायत, राजाको निरकुशता र दलहरुको कार्यशैलीलाई आरोपित गरेर जनताबाट क्षमा पाउने गरेको भएपनि अहिले हामीलाई त्यस्तो कुनैपनि आधार नभएकाले केही न केही गर्नैपर्ने बाध्यता रहेको बताए ।

विकास र समृद्धिको अभियान शुरु गर्ने निक्कै ठूलो अवसर आएको भन्दै उनले यो अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न आफूहरु क्रियाशील रहेको बताए ।

सरकार र नेकपाले विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्न पनि सबैको साझा प्रयत्न जरुरी रहेको स्पष्ट पारे ।

उनले भने,“हामीलाई भूगोग, प्रकृति, समाजले धेरै ठूलो अवसर दिएको छ । प्रकृतिले दिएको स्रोत र साधनलाई भौगोलिक र सांस्कृतिक विविधता भित्र लेखाजोखा गर्दै धनी राष्ट्रका रुपमा अगाडि बढ्ने पर्याप्त आधार दिएको छ । त्यसलाई सदुपयोग गर्नुपर्दछ ।”

फाईल तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्