Logo

निर्मला प्रकरणमा प्रहरीको कमजोरी भएकै हो, अब प्रभावकारी अनुसन्धान गर्नुपर्छ : ध्रुवबहादुर प्रधान



संगठनलाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ

-ध्रुवबहादुर प्रधान, पूर्व प्रमुख, नेपाल प्रहरी

नेपाल प्रहरी पछिल्लो समय असफल भयो भन्न थालिएको छ । किन यस्तो भयो ?
सुताएपछि सुत्छ, उठाएपछि उठ्छ । क्रमिक रुपमा व्यवस्था परिवर्तन भयो, त्यही ढंगले प्रहरी प्रशासनलाई परिवर्तन गराउनका लागि राज्यसंस्था क्रियाशिल रहेन । राज्यसत्ता संचालनको प्रक्रियामा रहेकाहरुको आचरण र व्यवहारले पनि प्रहरी प्रशासनलाई असर गरेको छ ।

प्रहरीले गलत काम गर्यो भन्ने सन्देश जान थालेको हो ?
प्रहरी भनेको गलत काम गर्नका लागि चाँही निश्चित पनि होइन । प्रहरीले राम्रो छवी बनाएको छ । विगतका अप्ठ्यारा अवस्थाहरुमा पनि प्रभावकारी भूमिका खेल्दै आएको छ । तर अहिलेको अवस्थामा प्रहरी संगठनलाई कमजोर बनाउने षडयन्त्रमुखी कार्यहरु भइरहेको छ ।

प्रहरी संगठनको कमजोरी चाँही केही पनि छैन त ?
एकाध कमी कमजोरी संगठनभित्र पनि रहन्छन् । तर कमजोरी हटाउनका लागि पनि प्रहरीको मनोबल उच्च राख्नुपर्छ ।

नेपाल प्रहरी कमजोर भयो शाषन व्यवस्थामा कस्तो असर पर्छ ?
शाषन व्यवस्था पनि कमजोर हुन्छ भन्ने कुरा सत्ता चलाउनेहरुले बुझ्नुपर्छ । प्रहरीलाई कमजोर बनाउँदै लगियो भने समाजमा विकृति बढ्छ । अहिले प्रहरी प्रशासनलाई कमजोर बनाउने षडयन्त्र भइरहेको छ । यदी सत्तारुढ दल र सत्ताबाहिरका दलहरुले प्रहरीको मनोबल गिराउने काम गर्दै गए भने दूरगामी असर पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीको कमजोरी हो कि प्रहरीमाथिको षडयन्त्र ?
मलाई के लाग्छ भने, यो सरकारको मनस्थिती कमजोर हो । सरकारले प्रहरीको विकल्प खोज्नुहुँदैन । एकाध घटनामा गलत रिपोर्टिङ हुन सक्छ । लापरबाही वा गल्ती भएर तत्काल कारबाही गरिएको छ । प्रहरीले थप अनुसन्धान गर्ने र सक्रियता देखाउने काम गरिरहेको छ । निर्मला प्रकरणमा भएका सबै सत्य तथ्य कुरा प्रहरीले पत्ता लगाउँछ भन्ने मलाई विश्वास छ ।

उक्त घटनाका प्रमाणहरु प्रहरीले नै नष्ट गर्यो भन्ने आरोप छ नि ?
मृतकको कपडा धोइयो, यावत कुरा गरियो, प्रमाण नष्ट गरियो भन्ने कुरा एउटा पक्ष हो । तर अनुसन्धानका थुप्रै पाटाहरु हुन्छन् । सुरुमा लापरबाही हुन सक्छ । कसैको व्यक्तिगत स्वार्थ लुकेको हुन सक्छ । यद्यपी अनुसन्धानका क्रममा अन्य प्रमाण खोज्न सकिन्छ ।

निर्मला पन्तका आमा बाबुले छोरी हराएको भन्दै प्रहरी प्रशासनमा जाँदा किन तत्काल कुनै कदमा चालिएन त ?
यो जायज प्रश्न हो । यस्तो अवस्थामा प्रहरीले तत्काल कदम चाल्नुपर्छ । यो निश्चित रुपमा गलत हो । यो घटनामा जिम्मेवार व्यक्तिलाई कारबाही गर्नुपर्छ । पीडित पक्षलाई विश्वास दिलाउन सकिएन भने त राम्रो सन्देश जानै सक्दैन ।

यो घटनामा राजनीतिकरण भयो भनिएको छ । तपाईलाई के लाग्छ ?
एउटा राजनीति दलले संस्थागत रुपमा अर्को दलको मनोबल गिराउनका लागि विभिन्न क्रियाकलाप हुँदै आएको छ । यो घटना भनेको अनुसन्धानको पाटो हो । त्यसैले राजनीतिकरण गर्नुहुँदैन ।

(नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग गरिएको कुराकानीको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्

Screenshot