भदौ ३०, काठमाण्डौ । बाराको हलखोरिया जंगलमा लामो समय निराहार तपस्या गरेर अन्तर्रा्ष्ट्रियस्तरमै ‘लिटिल बुद्ध’को उपमा पाएका रामबहादुर बम्जनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भएको छ ।
महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक(पटक बलात्कार गरेको बताएकी हुन् ।
बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा उनी आनी बन्न गएकी थिइन् ।
पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ ।
त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् ।
‘ममाथि पटक(पटक गुरुले बलात्कार गर्नु भयो । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन ।’
बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् ।
शेरबहादुर देउवा सरकारका पालामा उनले प्रधानमन्त्री नै भेटेर बाराको हलखोरिया वन आफ्ना लागि लिन सफल भए पनि स्थानीय र वन कार्यालयको विरोधका कारण बारा जान सकेका छैनन् । पछिल्लो समय उनी सिन्धुपाल्चोकमा बसिरहेका छन् ।