Logo

सबैको साझा संविधान कहिले बन्छ ? कतै ‘ब्लाक आउट’, कतै दिपावली



असोज १, काठमाण्डौ । असोज ३ गते संविधान दिवस मनाइदै छ । सरकारले औपचारिक रुपमा दिवस मनाउनका लागि समिति गठन गरेको छ ।

तर प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिएको राजपाले भने यस दिनलाई कालो दिनको रुपमा मनाउने भएको छ ।

संविधान जारी भएको दिन ३ असोजमा मधेसवादी दल कालो दिवस मनाउने तयारीमा जुटेका छन् । संविधान संशोधनको माग गर्दै संघर्षरत राष्ट्रिय जनता पार्टी नेपाल र संघीय सरकारमा सहभागी संघीय समाजवादी फोरम नेपाल कालो दिवसको तयारीमा जुटेका हुन् ।

राजपाका नेता अनिल झाले आफूहरुलाई भव्यताका साथ संविधान दिवस मनाउने चाहना भए पनि सरकारले त्यो वातावरण सृजना नगरेको गुनासो गरे । संविधान संशोधन गरेर सबै जनताको साझा संविधान नबनाएसम्म आफूहरुले संविधान स्विकार गर्न नसकिने उनको तर्क छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै झाले संविधानले क्षतविक्षत संघीयता कार्यान्वयन गरेकाले संशोधन गर्नुको विकल्प नभएको बताए ।

फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउने कार्यक्रम शनिबार सार्वजनिक गरिसकेको छ । यसअघि नै राजपा नेपालले विरोधका विभिन्न कार्यक्रम घोषणा गर्दै पार्टीका शीर्ष नेता एवं प्रदेश २ का मन्त्री परिचालन गरिसकेको छ ।

फोरम नेपाल तराई मधेस कमिटीका अध्यक्ष रेणु यादवले ३ असोजलाई कालो दिवसकै रूपमा मनाउने र सो कार्यक्रममा सहभागी हुन निर्वा्चित जनप्रतिनिधिलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएकी छन् ।

प्रदेश २ मा फोरम नेपालकै उपाध्यक्षसमेत रहेका लालबाबु राउत मुख्यमन्त्री छन् । पार्टीको निर्देशन अब उनले पनि मान्नुपर्ने भएको छ । प्रदेश २ बाहेकका प्रदेशका साथै संघीय सरकारले संविधान दिवस मनाउने भव्य तयारी गर्दै गर्दा त्यहाँ कालो दिवस मनाउने गरी तयारी थालिएको हो ।

संघीय सरकारमा फोरम नेपाल सहभागी छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं शिक्षा मन्त्री रहेका छन् । प्रदेश २ मा मुख्यमन्त्री फोरम नेता राउत छन् भने सत्तारुढ दल राजपा नेपालका मन्त्री कालो दिवसको तयारीमा जुटिसकेका छन् ।

फोरम नेपालले ३ असोजमा दिनभरि हातमा कालोपटी बाँध्ने, सार्वजनिक स्थानमा कालो झन्डा झुन्डयाउने निर्णय गरेको छ । फोरमले विरोधका कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

३ असोजमा कालो दिवस मनाउने निर्णय मधेसवादी दलले गरे पनि कार्यक्रम भने फरक रहेको छ । राजपा नेपालले ३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याक आउट (बत्ती निभाउने) लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्