काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै भारत र चीन दुवै देशको भ्रमण गरेका छन् । उनको भ्रमणको चर्चा तथा परिचर्चा भैरहेकै बेला नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्डसँग सशंकित बनेको खुलासा भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आसयको अभिव्यक्ति दिएको स्रोतको दाबी छ । सचिवालय बैठकमा ओलीले पार्टीविरुद्ध चौतर्फी रुपमा प्रहार भैरहेकोले आफूले विरोधीविरुद्ध अरिंगालजस्तैगरि खनिन बताएको प्रसँग उल्लेख गर्दै अब पनि नेता तथा कार्यकर्ताहरुले आफ्नो आशय नबुझ्ने हो भने दुई तिहाईको सरकार गुम्न सक्ने खतरा औंल्याएका थिए ।
प्रधानमन्त्री ओलीले नेताहरुलाई आफ्नो भनाईलाई गम्भिर रुपमा लिनको लागि आग्रह गर्दै भनेका थिए,”तपाईहरु पार्टीभित्रबाट मलाई सहयोग गरे गर्नुहोस्, या नगरे नगर्नुहोस् । तर म एक्लै हिँड्छु । लड्छु । दुई तिहाईको कुरा गरेर हुँदैन, सरकार र पार्टीविरुद्ध आईलाग्नेमाथि अब जाई लाग्नुहोस ्। यत्तिकै हल्का रुपमा नलिनुहोस् । यदि त्यसो गरियो भने गलत हुन्छ।”
प्रचण्डले भारत र चीन भ्रमण गरेपछि ओली पार्टीभित्रै अलिक बढि सशंकित बनेका छन् । उनले प्रचण्डले कतै आफू प्रधानमन्त्री बन्नेसहितको महत्वकांक्षा त तुरुन्तै देखाउँदैनन् भन्ने चिन्ता ओलीमा रहेको नेकपा निकट उच्च स्रोतको दाबी छ ।