काठमाडौं, ५ असोज । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
सिंहदबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार राति अबेर सम्पन्न मन्त्रिपरिषद्को बैठकले पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गरेको हो ।
बैठकले माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।
त्यस्तै आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले नीति अनुसन्धान प्रतिष्ठान बनाएको हो । प्रतिष्ठानमा प्रा. डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ छन् ।