असोज ६, काठमाण्डौ । काठमाण्डौका अधिकांश मासुपसल अस्वस्थकर छन् । मासु व्यापारीहरुले सरसफाईमा ध्यान नदिदा कतिपय बधशालका मासु खान योग्य नै छैनन् । सरकारले बेलाबेलामा अनुगमन गरेर सच्चिन निर्देशन दिने गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रिवितरणमा प्रतिवन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको हो ।
कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालित ५ वटा बधशालाको अनुगमन गरेको थियो । मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्रि वितरणमा प्रतिवन्ध लगाइएको छ । देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ ।
सो बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, रागाँ भनेर भैसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्रि वितरणमा रोक लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए ।
सील गरिएका बधशालाहरुमा दैनिक ३० भन्दा बढी राँगा र भैसी काट्ने गरेको पाइएको छ काटेको मासु खान अयोग्य भए पछि नष्ट गर्नका लागि महानगरपालिका र नगर प्रहरीको जिम्मा लगाइएको विभागले जनाएको छ ।
अनुगमनमा मन्त्रालय, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, महानगरपालिका र स्थानीय प्रशासनको सहभागिता थियो । तर ए वान मिट सपका सञ्चालक सरोज खड्गीले भने सरकारले जहिले पनि सुधारको मात्र कुरा गरेको भन्दै पहिले भन्दा सुधार गर्दै लगेको दावी गरेका थिए ।
व्यवस्थीत पशु बधशाला नभएका कारण उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य छन् । मापदण्ड अनुुसारका बधशाला निर्माण र संचालन नहुँदा उपभोक्ता मर्कामा पर्ने गरेका छन् । सरकारले मौसमी रुपमा हुने यस्ता अनुगमन प्रभावकारी हुन सकेको छैन ।