Logo

महिलाको दुश्मन बन्दै एसिड



असोज ९,  काठमाण्डौ । कुनै मानिसलाइ मार्नु कुरुप बनाउने वा अङगभङग गर्ने उदेश्यले उसको शरीरमा एसिड फाल्नु गर्ने एक प्रकारको अपराध हो । यस्तो घटनामा महिलाहरु बढी मात्रामा पिडित हुने गरेका छन् । पछिल्लो समय यस्तो घटना बढ्दै गएको छ ।

एसिडजस्तो संवेदनशील वस्तुको बढ्दो दुरुपयोग भईरहेको छ । २०७० मा गोङगबु बानियाटारमा एसिड आक्रमण भयो । २०७३ मा २७ बर्षीय तुलसा सापकोटमाथि एसिड आक्रमण भयो । २०७१ राजधानीकै बसन्तपुरमा सिमा बस्नेत र सम्झना मगरमाथि एसिड आक्रमण भयो । एसिड पीडित बस्नेतले यस्ता घटनामा संलग्नलाई कडा कारबाही गर्न नसकेको आरोप लगाउँछिन् ।

गत भदौ २६ गते रौतहटको चन्द्रपुर ६ का १८ बर्षीय सम्झना दास र १५ बर्षीय सुस्मिता दासमाथि घरमै सुतिहेको बेला राति १२ बजे एसिड आक्रमण भएको थियो । यस्तै गए राति नवलपुरमा २७ बर्षीय वसन्ती परियारमाथि एसिड आक्रमण भएको छ । दिनप्रति दिन यस्ता धटना बढिरहेका छन । एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराध अन्तर्गत कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरि अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा र्पुयाएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ । महिला हिसां विरुद्घ थुप्रै कानुनहरु छन् ।

प्रतिनिधिसभा अन्र्तगतको महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले मुलुकभरका महिला हिंसाका घटनाप्रति सरकारलाई जवाफदेही बनाईने प्रतिवद्धता व्यक्त गरेकी छिन् । महिला हिंसाका घटनाको प्रभावकारी अनुसन्धान र कारवाहीका लागि सरकारलाई निर्देशन दिने र महिला सुरक्षा तर्फ जवाफदेही बनाउनुको साथै त्यस्ता घटनामा न्युनिकरण ल्याउन समितिले प्रभावकारी ढंगले काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

समाजमा छोरी चेली खुलेर हिड्न समेत पाउने अवस्था छैन । सरकार र सुरक्षा निकायको भूमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहे पनि नयाँ योजना र नीति लागु गर्न सकिएको छैन ।



प्रतिक्रिया दिनुहोस्