Logo

निकम्मा प्रधानमन्त्री ओलीलाई समर्थन दिएर अर्थ छैन : मनिष सुमन



असोज ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले देशमा भइरहेका महिला हिंसा र बलात्कारको घटनाले गम्भीर चिन्ता सृजना गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले आफूहरुलाई जनताको प्रतिनिधी भन्न पनि लाज लाग्न थालेको बताए ।

“सामाजिक अवस्था बहुतै दर्दनाक छ । दिनदिनै बलात्कारका घटना भएको सुन्दा रौँ नै सिरिङ्ग हुन्छन् ।” उनले भने ।

बलात्कारका घटनाका सन्दर्भमा पनि तराई र पहाडमा विभेद देखिएको उनको तर्क छ । तराईमा बलात्कारका घटना हुँदा माइतिघर मण्डला सुनसान हुने तर पहाडमा त्यस्ता घटना भयो भने माइतिघरमा विरोध प्रदर्शन हुने गरेको उनको भनाई थियो ।

सामाजिक विकृति एकातिर छ भने सरकारको काम पनि प्रभावकारी नभएको सुमनले बताए । “बडो विकराल स्थितीबाट गुज्रिरहेका छाँै । दुई तिहाई बहुमतको सरकारले अपराधमुक्त समाज बनाउला भन्ने आशा थियो । तर राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा गाभियो । शक्तिशाली होला भनेको निकम्मा भयो ।” सुमनले भने ।

निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई २ महिनासम्म पक्राउ गर्न नसकेकोप्रति उनले आपत्ति प्रकट गरे ।

राजपाले सरकारलाई समर्थन गरेको ७ महिना हुँदासम्म कुनै पनि प्रगति नभएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । आफुहरुले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिए पनि अहिले ओलीले वेवास्ता गरेको उनको आरोप छ ।

रुष्ट देखिएका सुमनले भने, “अब प्रधानमन्त्रीलाई हाम्रो समर्थनको कुनै औचित्य छैन । विश्वासको मत फिर्ता लिन नमिले पनि समर्थन फिर्ताको निर्णय जहिले पनि गर्न सक्छौँ । यस्ता निकम्मा बेकारका प्रधानमन्त्रीलाई समर्थन दिएर अर्थ हुँदैन ।”



प्रतिक्रिया दिनुहोस्