Logo

स्थापित ९ महिनामै विस्थापित



काठमाडौं १७ कार्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।

संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।

‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ (स्थापित)ले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।’

मुख्यमन्त्री पौडेल र स्थापितबीच सरकार गठन भएदेखि नै मतभिन्नता रहेको प्रदेश ३ मन्त्रिपरिषद् स्रोतले बतायो । उनीहरूबीच राजधानी कहाँ राख्ने, भौतिक पूर्वाधार कुन–कुन ठाउँमा निर्माण गर्ने र कुन–कुन शीर्षकमा बजेट विनियोजन गर्ने भन्ने विषयमा पनि मत बाझिएको स्रोतको भनाइ छ ।

पछिल्लोपटक बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकमा पनि स्थापित र पौडेलबीच चर्काचर्की भएको थियो । बैठकमा मन्त्री स्थापितले जिम्मा लिएको मन्त्रालयकै काम सुस्त भएको मुख्यमन्त्रीले बताएपछि विवाद सुरु भएको थियो । ‘मुख्यमन्त्री र स्थापितमध्ये एकजना बाहिर नरहेसम्म मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्था थियो’, एक मन्त्रीले भने, ‘स्थापितज्यूका काम र व्यवहारबाट मुख्यमन्त्री सन्तुष्ट हुनुहुन्थेन ।’

मन्त्रिपरिषद्मै विवाद भएपछि तनावमा रहेका मुख्यमन्त्री पौडेल बिहीबार साँझै काठमाडौं पुगेका थिए । उनले त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर स्थापितलाई हटाउन सहमति मागेका थिए ।

दुई अध्यक्षबाट अनुमति लिएर स्थापितलाई बर्खास्त गरेको उनको सचिवालयका एक सदस्यले बताए । मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसँग शुक्रबार बिहान पनि भेटेका थिए । स्थापितलाई हटाउने चिठीमा भने उनले बिहीबारै हस्ताक्षर गरेर हिंडेका थिए ।

मुख्यमन्त्रीले बर्खास्तीको निर्णय लिएलगत्तै मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा बर्खास्तीको चिठ्ठी बुझाएका थिए । प्रदेश प्रमुख कार्यालयका सचिव शिवलाल तिवारीले मन्त्री स्थापितलाई बर्खास्त गरेको चिठी मुख्यमन्त्री कार्यालयबाट प्राप्त भएको बताए ।

पूर्वाधार मन्त्रालयको काममै विवाद

तीन नम्बर प्रदेशले चालु आर्थिक वर्षमा सबभन्दा बढी बजेट विनियोजन गरेको छ । करिब १३ अर्ब रूपैयाँ बजेट छुट्टाइएको भए पनि त्यससम्बन्धी विधेयक पारित हुन सकेका छैनन् ।

मन्त्रालयले आवश्यक सात कानुनमध्ये प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मात्र प्रदेश सभामा दर्ता गरेको छ । स्थापित नेतृत्वको मन्त्रालयले कामलाई तीव्रता नदिएको भन्दै मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए ।

स्थापितले बर्खास्त हुनुअघि आफूले गम्भीरताका साथ काम गरिरहेको दाबी गरेका थिए । अन्नपूर्णसँग कुरा गर्दै उनले केही महिनाभित्र रिजल्ट देखिने दाबी गरेका थिए । स्थापित आइतबार चीन जाने तयारीमा छन् । उनले मुख्यमन्त्रीसँगको विवादबारे पार्टीसँग बसेर छलफल गर्ने बताएका थिए ।

स्थापित काठमाडौं ६(क) मा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७४ माघ २९ गते प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले मुख्यमन्त्रीलाई असहयोग गरेका कारण उनी बर्खास्तीमा परेको बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले मुख्यमन्त्रीको निर्णय स्वाभाविक भएको बताए । ‘मुख्यमन्त्रीसँग बर्खास्ती गर्न सक्ने संवैधानिक अधिकार छ, असहयोग गर्ने मन्त्रीलाई उहाँले हटाउन सक्नुहुन्छ’, उनले भने ।

कांग्रेसकी प्रमुख सचेतक राधा घलेले सरकार आफैमा झगडा गरेर बस्नु दुःखद् भएको बताइन् । ‘सरकार बनेको नौ महिना बित्यो, प्रदेश सरकारलाई चाहिने ९९ वटा कानुन बनाउनमै पाँच वर्ष बित्लाजस्तो छ’, उनले भनिन्, ‘यति सजिलो प्रतिपक्ष पाउँदा पनि सरकार आन्तरिक विवादमा अल्झेको छ ।’
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot