Logo

आकर्षक अष्ट्रिच फर्म, जहाँ पर्यटकसमेत लोभिए



कात्तिक १७, भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका गंगोलिया स्थित अष्ट्रिच फर्म पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नीजि क्षेत्रबाट संचालित फर्ममा पालेका अष्ट्रिच चरा हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

अष्ट्रिच चराहरुसँग रमाउन र मासुको स्वाद लिन पाउने भए पछि अष्ट्रिच फर्ममा आउने पर्यटक वृद्धि हुँदै गएका हुन् । फर्ममा आन्तरिकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटक पनि अत्यधिक आउँछन् । बिशेष गरेर लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटक २० प्रतिशत बढी फर्म अवलोकन गर्न पुग्छन् ।

आन्तरिकमध्ये नीजि तथा सामुदायिक विद्यालय, क्याम्पसहरु, क्लबहरु, किसान समूह र कृषि पेसामा आश्रित संस्थाहरुले अवलोकनका लागि आफ्नो पहिलो रोजाईमा अष्ट्रिच फर्मलाई लिने गरेका छन् । पर्यटकको भीड लाग्न थाले पछि अहिले अष्ट्रिचफर्म लुम्बिनी पछिको दोस्रो गन्तव्यका रुपमा चिनिन थालेको छ । यहाँ दैनिक एक हजारको हाराहारी पर्यटक आउने गरेको फार्मले जनाएको छ ।

पर्यटक लक्षित फर्म भित्रै एउटा रेष्टुराँ छ । उक्त रेष्टुराँमा अवलोकन गर्न आउने पर्यटकले अष्ट्रिच र इमु चराका विभिन्न परिकारहरुको स्वाद लिन पाउँछन् । रेष्टुराँ नजिकै एउटा माछा पोखरी पनि छ । पोखरीमा पर्यटकले इच्छा अनुसार आफै बल्छी खेलेर माछा निकाली पोलेर वा फ्राइ गरेर स्वाद लिन पाउँछन् । यस्तै अर्गानिक तरकारीको समेत स्वाद लिन पाइन्छ । चरासँगै रमाउने मात्रै नभएर खानपिन पनि गर्न पाउँदा पर्यटक लामो समय सम्म घुम्छन् ।

पर्यटक बढ्दै गए पछि यहाँ बास बस्नका लागि २० कोठे लज निर्माण गर्ने तयारी गरिएको छ । फर्म हेर्न नेपालका पूर्वप्रधानमन्त्री देखि सरकारी उच्च ओहदाका व्यक्ति समेत पुगिसकेका छन् । दैनिक अष्ट्रिच हेर्न आउने सयौं स्वदेशी तथा विदेशी पर्यटकहरु घण्टौं सम्म फर्मभित्र रमाउने गर्छन् ।

यहाँ बर्सेनि ३ लाखको हाराहारीमा पर्यटक पुग्छन् । २० विगाह क्षेत्रफलमा फैलिएको फर्म एकल लगानीमा २०६५ सालमा स्थापना गरिएको हो । फर्ममा जमिन बाहेक डेढ अर्ब लगानी गरिएको छ । अष्ट्रिच पालन व्यवसायिक रुपमा गर्ने उद्देश्यले खोलिएको फर्म पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दा संचालक स्वयम् दंग छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot