Logo

प्रदेश नम्बर ५ मा चीनको नजर, लगानी बढाउने तयारी



काठमाडौं २६ कार्तिक । बुद्धको जन्मस्थल लुम्बिनी रहेको प्रदेश नम्बर ५ को विकासमा लगानी गर्न चिनियाँ लगानीकर्ता तयार देखिएका छन् । मुलुक संघीय संरचनामा नजाँदै यहाँका केही उद्योगमा लगानी गरेको चीनले अब त्यसलाई बृद्धि गर्ने योजना बनाएको हो ।

लुम्बिनी विश्वकै मुख्य पर्यटकीय गन्तब्य बन्ने भन्दै चिनियाँ लगानीकर्ता र चीन सरकार लुम्बिनी क्षेत्रमा लगानीको वातावरण बनाउन लागि परेको हो । पछिल्ला तीन दुई महिनायता चीनको भिन्दाभिन्दै टोलीले प्रदेश सरकारसँग छलफल गर्दै लगानी गर्न इच्छुक रहेको बताएका हुन् ।

गत महिनामात्रै चीनको रेलवे विभागले लुम्बिनीमा मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो । यो प्रक्रिया जारी रहेका बेला नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले मुख्यमन्त्री शंकर पोखरेललाई भेट्दै लुम्बिनीको विकाससँगै समग्र विकासका लागि चीन सरकार सहकार्य गर्न तयार रहेको बताएकी छन् ।

चीनले कृषिको विकासका लागि पनि सहकार्य गर्न तयार रहेको राजदूत होङ्गले बताएकी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार चीनले प्रदेश सरकारसँग विकासको अनुभव साटासाट र विकासमा सहकार्य गर्न सकिने बताएकी छन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेशका विशेषता र योजनाको जानकारी गराएका थिए । लुम्बिनीको विकास महत्वपूर्ण पाटो भएको भन्दै उनले कृषिमा लगानीको प्रशस्त सम्भाव्यता समेत रहेको बताएका छन् ।

चिनियाँ रेल लुम्बिनी आउने योजना र चीन सरकारले नेपालमा गरेको सहकार्यका लागि उनले राजदूतमार्फत धन्यवाद समेत ज्ञापन गरे । ‘प्रदेशको विकासका लागि चीनसँग अनुभव साटासाट गर्न सकिन्छ’, उनले भेटमा भने । मुख्यमन्त्री पोखरेलले लुम्बिनी र चीनको सम्बन्ध छौठौं शताब्दीदेखि रहेको भन्दै लुम्बिनीको विकासमा सहयोग र सहकार्य बढाउदै लैजानुपर्ने बताए ।

भेटमा क्रममा राजदुत होङ्गले विकासको अनुभव साटासाटका लागि चीनको भ्रमण गर्न समेत मुख्यमन्त्रीलाई आग्रह गरेकी थिइन । भेटमा चिनियाँ व्यवसायीको लगानी रहेका क्षेत्रका विषयमा समेत सामान्य कुराकानी भएको छ ।

चीनले प्रदेश ५ को विशेषगरी लुम्बिनी आसपासको क्षेत्रमा सम्भाव्यता अध्ययन गरी लगानी गर्न चाहेको छ । यसअघि भैरहवा तथा लुम्बिनी कोरिडोरमा चिनिया लगानीकर्ताहरुले अध्ययन गरेका थिए ।

प्रदेश सरकारले विदेशी लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउने कामलाई प्राथमिकरणमा राखेको छ । कृषि हुँदै पर्यटनको विकासबाट समृद्ध प्रदेश बनाउने योजना सरकारको छ । चीनकी राजदुत होङ्गलेले प्रदेश सरकारको ‘समृद्ध प्रदेश, खुसी जनता’ योजनामा सघाउन चीन तयार रहेको समेत बताएकी छन् ।

मुलुककै मध्यभागमा प्रदेश ५ पर्ने भएकाले लगानीकर्ताहरु यो क्षेत्रमा बढी आर्कषित रहेका छन् । प्रदेश ५ मा गत वर्ष मात्रै एक अर्ब ३५ करोड १० लाख चीनले लगानी गरेको थियो । यो चीनबाट हालसम्म भएको सबैभन्दा ठुलो लगानी हो । चिनियाँ लगानीमै ह्वाङसी सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको छ । खानी, कृषि तथा पर्यटनमा चिनियाँ लगानीकर्ताह आकर्षित भइरहेका छन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot