Logo

चितवनमा थप १३८ नयाँ एचआइभी सङ्क्रमित



काठमाडौँ,७ मङ्सिर । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् ।भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन एएचएफ नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् ।

फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन् । हाल सो कार्यालयबाट एक हजार ६५९ जनाले दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले जनाएका छन । जसमा ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका रहेका छन् ।

सन् २०१७ मा १३५ जना नयाँ सङ्क्रमित थपिएका थिए । सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको भाइरल लोड परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए । कार्यालयले यस वर्ष ८६ हजार ६१२ वटा कण्डम वितरण गरेको जनाएको छ ।

सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो । नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको अनुमान रहेको छ । हालसम्ममा १९ हजार ७०२ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ । जसमध्ये १५ हजार २६० ले देशका विभिन्न ठाउँबाट औषधि प्रयोग गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्