Logo

परिवर्तन अभियान नेपालद्वारा आयोजित निःशुल्क आँखा शिविर सम्पन्न, ३१ जनाको शल्यक्रिया गरिने



काठमाडौं, १५ वैशाख । राजधानीको तारकेश्वरमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।

उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।

शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, संस्थाका सल्लाहकारहरू सबिन तामाङ, कविता रिजाल, वासुदेव लामा, ५ नम्बरका वडाध्यक्ष शम्भु प्रसाद फुयाँल, नागार्जुन १ का वडाध्यक्ष रामेश्वर लामालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । परिवर्तन अभियान नेपालले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot