Logo

विप्लवसँग एकता हुन्छ, प्रचण्ड–ओलीसँग सम्भव छैन : गजुरेल



मंसिर ९, काठमाण्डौ । नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग एकता लागि वार्ता भइरहेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले विप्लवसँगै ऋषि कट्टेल नेतृत्वको नेकपासँग पनि एकताको प्रयास भइरहेको बताए ।

पार्टी एकता चुट्कीको भरमा नहुने भन्दै उनले राजनीतिक र वैचारिक पक्षमा छलफल भइरहेको बताए । विप्लव नेतृत्वको पार्टीसँग वैचारिक र राजनीतिक विषय मिल्यो भने एकता हुने उनले बताए ।

ऋषि कट्टेलसँग पनि एकताका लागि वार्ता भइरहेको जानकारी दिँदै उनले सिपी मैनाली नेतृत्वको नेकपा माले र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग भने कार्यगत एकताको मात्रै सम्भावना रहेको उनले जानकारी दिए ।

सत्तारुढ दल नेकपासँग भने एकताको सम्भावना नै नरहेको गजुरेलले बताए ।

“सत्तारुढ नेकपासँग एकता सम्भव नै छैन । उहाँहरु त नाम मात्रै कम्युनिष्ट हो । केपी ओली र प्रचण्डले त कम्युनिष्टको सिद्धान्त खाइसकेका छन् ।” गजुरेलले भने ।

ओली प्रचण्ड नेतृत्वको पार्टीलाई आफूहरुले वामपन्थी वा कम्युनिष्ट पार्टी नभएको भन्दै गजुरेलले सत्तारुढ नेकपा र कांग्रेसमा कुनै भिन्नता नभएको बताए ।

ओली नेतृत्वको सरकारले देशलाई विकासतिर नभै विनाशतिर लगेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot