Logo

के प्रदीप रावल नै हुन त निर्मलाको हत्यारा ? की विरोध साम्य पार्नका लागि रचिएको रणनीति



मंसिर २०, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका कञ्चनपुरका एक युवकले आफैँ हत्यामा संलग्न रहेको बयान दिएको दावी गरिएको छ ।

निर्मलाका छिमेकी अनुमानित २२ वर्षका प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएको बताइएको हो ।

केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँग हत्या स्वीकार गरेको बताइएको हो । यसबारे प्रहरीले औपचारिक जानकारी भने गराएको छैन । प्रहरी बलियो प्रमाण नभेटेसम्म रावलबारे केही पनि जानकारी नदिने नीति लिएको छ ।

तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले केही संचारमाध्यमलाई नाम नबताउने शर्तमा रावल पक्राउ र उनले दिएको बयानबारे केही जानकारी दिएका हुन् ।

अन्नपुर्ण पोष्ट डटकमले लेखेको छ, “गएराति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ ।”

सीआईबीले रावलसँग गएराति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो । सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् । घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने प्रहरीले बताएको छ ।

रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि पनि प्रहरीले निर्मलाको हत्यारा पक्राउ गर्न दबाबमूलक कार्यक्रम बढ्दै गएपछि स्थानीय ४१ वर्षका दिलिपसिंह विष्टलाई पक्राउ गरेर आरोप लगाएको थियो । तर उनको डिएनए परीक्षणले उनलाई निर्दोष सावित गरेको थियो ।

लामो समयसम्म पनि बलात्कारी पक्राउ नपरेको भन्दै सरकारको तीब्र आलोचना भइरहेका बेला रावललाई पक्राउ गरेर सरकारले झिनो आशा देखाएको छ । तर अनुसन्धान प्रक्रिया भने जारी भएकाले केही भन्न सकिने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्