Logo

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत



काठमाडौँ, २२ मङ्सिर : करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन विकेटले पराजित गर्दै विराटनगरले विजयी शुरुआत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पूरै २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको मध्यम स्कोर बनाएको थियो । एक सय ५ रनको विजयी लक्ष्यमा विराटनगरले दुई बल बाँकी हुँदा पूरा ग¥यो । ५० रन जोड्दा ६ विकेट गुमाइसकेको विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे । तीन छक्का र एक चौका प्रहार गरेका कारणले अविजित ३६ रन जोडे । यस्तै आसिफ शेखले १९, अनिलकुमार साहले ११ रन जोडे । कप्तान पारस आठ रनमा आउट भए ।

ललितपुरका लागि गौरव टोमरले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १०४ रन बनाएको थियो । खराब शुरुआत गरेको ललितपुरले ३९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर कप्तान ज्ञानेन्द्र मल्ल र सन्नी पटेलले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । पटेल व्यक्तिगत २० रनमा आउट भए । मल्लले ४९ रनको योगदान गरे ।

जितसँगै विराटनगरले दुई अङ्क जोडेको छ । ललितपुरले भने हारबाट प्रतियोगिताको शुरुआत गरेको छ । लिगअन्तर्गत आइतबार पहिलो खेलमा ललितपुर प्याट्रियस र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजले खेल्नेछ ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् । विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot