Logo

चार नेताहरुले बैठक बहिष्कार गरेपछि हामी पनि आश्चर्यचकित छौँ : विष्णु पौडेल



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले शुक्रबारको सचिवालय बैठक बहिस्कार गरेपछि विवाद सतहमा आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तर, आधा घन्टा कुर्दा पनि बैठक सुरु नभएको भन्दै चार नेता बालुवाटारबाट हिँडेका हुन् । यसै विषय केन्द्रित रहेर सचिवालयका महासचिव विष्णु पौडेलसँग ऋषि धमलाले कुराकानी गरेका छन् । कुराकानीका क्रममा सरकारका काम कारबाही र एसिया प्यासिफिक समिटमा सहभागिता भएकोबारे पनि प्रश्न गरिएको छ ।

विष्णु पौडेल, महासचिव, नेकपा सचिवालय

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक चार जना नेताले बहिष्कार गर्नुभयो । किन ?
उहाँहरुले किन यसो गर्नुभयो भन्नेमा हामी पनि आश्चर्यचकित भएका छौँ । मैले केही बुझ्न सकेको छैन । बैठक ३ बजेको लागि तय भएको थियो । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ३ बजे नै वालुवाटार प्रवेश गरेर आन्तरिक छलफलमा हुनुहुन्थ्यो । चार जना नेताहरुलाई मैले यस विषयमा जानकारी गराएको थिएँ । त्यसको केही समयपछि उहाँहरु हिँड्नुभएछ ।

अध्यक्ष ओली र दाहाल के छलफलमा व्यस्त हुनुहुन्थ्यो ?
उहाँहरु बैठक कक्षमा प्रवेश गर्नका लागि आउँदै हुनुहुन्थ्यो । ६४ सालमा उदयपुर जिल्लाबाट चुनाव जित्नुभएका मणि खम्बुले अध्यक्षहरुलाई भेट्न आउनुभयो । उहाँ एउटा सक्रिय महिला नेतृ पनि हो । तर अहिले क्यान्सर पीडित हुनुहुन्छ । उहाँको स्वास्थ अवस्थाबारे जानकारी लिनका लागि अध्यक्षज्यूहरु रोकिनुभयो । १० मिनेट समय त्यहाँ लाग्यो । ओली र दाहाल बैठक कक्षमा पुग्दा ३ बजेर १७ मिनेट गएको थियो ।

तर नेताहरुलाई अपमानित गर्ने गरी धेरै समय कुराइयो भन्ने कुरा आएको छ नि ?
कोही नेतालाई पनि अपमानित गरिएको छैन । अपमानित गर्ने उद्धेश्य र सन्दर्भ केही पनि थिएन । जम्मा जम्मी क्यान्सर पीडित महिला नेतृसँग १० मिनेट मात्रै ढिला भएको हो । नारायणकाजी श्रेष्ठले पनि मलाई ३ ः १५ मा बाहिरएको म्यासेज गर्नुभएको थियो ।

उहाँहरुले बैठक छोडेर हिँडिसकेपछि बैठक स्थगित गरेर सहमति खोज्नुको साटो ५ जनाले बैठक गर्नुभयो । यसले आगामी दिनमा तिक्तता पैदा गर्दैन ?
हामी सबै एकसाथ छाँै । हिजोको घटनाका बारेमा कमरेडहरुले अझै केही भन्नुहोला ।

बामदेव गौतमले त अबदेखि प्रधानमन्त्री निवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छ भन्नुभएको छ नि ?
बैठक त पार्टी कार्यालयमा पनि बस्छ नि । २९ गतेको स्थायी कमिटिको बैठक पार्टी कार्यालयमै राख्छौँ ।

सरकारको कामप्रति पनि शीर्ष नेताहरुले नै सन्तुष्टी व्यक्त गर्न सकेका छैनन् । अब कसरी अगाडि बढ्नुहुन्छ ?
सरकारले राम्रो काम गर्यो वा गरेन भन्ने कुरा आम जनताले मूल्याङ्कन गर्ने हो । सरकारले राम्रो काम गरिरहेको छ । अझै राम्रो काम गर्ने तयारी अगाडि बढाइरहेको छ ।

एसिया प्यासिफिक समिटमा सरकारको सहभागितालाई लिएर प्रधानमन्त्री ओली विवादमा पर्नुभयो । यसलाई कसरी लिनुहुन्छ ?
यो विषयलाई भुईकम्पा मच्चाउनुपर्ने कुनै जरुरत छैन । नेपाल सरकार उक्त कार्यक्रमको आयोजक पनि होइन । प्रधानमन्त्री चिफ गेष्टको हैसियतले सहभागि हुनुभएको हो । उहाँले त्यो कार्यक्रममा दिनुभएको मन्तव्यमा कुनै त्रुटी छ भने भन्न सक्नुपर्यो कसैले ।

एउटा संस्थाको कार्यक्रमका लागि प्रधानमन्त्री ३ दिनसम्म होटल सोल्टीमा बस्नुभयो । यो पनि उचित नै हो ?
नेपालमा आएका गेष्टहरुसँग भेट्नका लागि मात्रै हो । विभिन्न राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख नेपाल आएका बेला भएको भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ । मुख्य कुरा समिटमा सहभागि भएर ओलीले के कुरा बोल्नुभयो भन्ने हो । उहाँले बोलेका कुरा कुनै खोट छ र ? उहाँले राखेका विचारका बारेमा बहस गरौँ न । प्रधानमन्त्रीले त समिटमा गएर नेपालको विशेषता, इतिहास र गौरवका कुरा गर्नुभएको छ ।

समिटमा सहभागि भएपछि सत्तारुढ दलबाटै आलोचना भयो नि ?
आलोचना त अभिव्यक्तिलाई लिएर हुनुपर्ने हो नि । ओलीले दिएको अभिव्यक्तिमाथि कसैले प्रश्न उठाउन सकेको छ ?

तर पछि वुद्धिजीवीहरुलाई त गाली गर्नुभयो नि ?
प्रधानमन्त्रीले वुद्धिजीवीहरुको विरुद्धमा बोल्नुभयो भनेर चर्चा गर्न खोजिएको छ । त्यो नितान्त गलत कुरा हो । कतिपय मानिसले यस्ता कुरा गर्छन् भनेर उहाँले संकेत गर्नुभएको हो । वुद्धिजीवीहरुलाई उहाँले गाली गर्नुभएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot