मंसिर २३, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावित विधानको मस्यौदामाथि वृहत छलफल गरेर कमी कमजोरी हटाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले सबै केन्द्रिय सदस्यहरुको विचारलाई आधार मानेर सर्वस्विकार्य बनाइने बताएका हुन् ।
पदाधिकारी बढाउने सन्दर्भमा सबै सदस्यहरुको मिल्दोजुल्दो विचार व्यक्त भएको पौडेलले बताए । लोकतान्त्रिक पार्टीभित्र व्यक्त भएका फरक विचारलाई अन्यथा लिन नहुने पौडेलको भनाई छ ।
राजनीतिमा उमेरको हदबन्दी नहुने भन्दै पौडेलले गगन थापाले प्रस्ताव गरेको ७० वर्षको उमेरहद उचित नभएको बताए । थापाको प्रस्तावलाई पौडेलले अलोकतान्त्रिक विचार भनेका छन् ।
अरुलाई बाहिर निकालेर आफू अघि बढ्नका लागि उमेरहद ल्याउन खोजिएको पौडेलको आरोप छ । केही समयअघि नेकपा एमालेले पनि उमेरहद लगाएर भरतमोहन अधिकारी जस्तो राम्रो नेतालाई पाखा लगाइएको पौडेलले उदाहरण प्रस्तुत गरे ।
प्रधानमन्त्री केपी ओलीले कुरा मिठा गरे पनि देशका लागि राम्रो काम गर्नै सुनौलो मौकाको फाइदा उठाउन नसकेको पौडेलको तर्क छ ।
“न अशान्ति छ, न अस्थिरता छ, न प्रतिपक्षको ठूलो चुनौति छ । निर्धक्क काम गर्न सकिने सहज वातावरण बनेको बेलामा पनि काम हुन सकेको छैन ।” पौडेलले भने ।
पछिल्लो समय विचार र दर्शका आधारमा कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट नै भएको पौडेलले स्पष्ट पारेका छन् । “हाम्रो मूल प्रतिस्पर्धा त कम्युनिष्टसँग नै हो ।” पौडेलले भने ।
अब जनताको घरदैलोमा गएर कांग्रेसले सबैको मन जित्ने अभियान चलाउनुपर्ने पौडेलको भनाई छ ।