Logo

उपप्रधानमन्त्री यादवले मोदीलाई भेटे, के कुराकानी भयो ?



काठमाडौँ, २६ मङ्सिर । भारत भ्रमणमा रहेका उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

स्वास्थ्यसम्बन्धी साझेदारी बैठकलाई भारतको नयाँ दिल्लीमा आज सम्बोधन गरेलगत्तै मन्त्री यादवले सोही अवसरमा मोदीलाई भेटेका हुन् । मोदी र उपप्रधानमन्त्री यादवकाबीच द्विपक्षीय भेटघाट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री यादवले त्यसअघि उक्त बैठकलाई सम्बोधन गर्दै आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताएका थिए । उनले पछिल्लो समय नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको जानकारी दिए ।

मन्त्री यादवले सबैका लागि स्वास्थ्य भन्ने नारालाई पूरा गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन र नसर्ने रोग न्यूनीकरणमा प्राथमिकता दिइएको चर्चा गर्दै बहुक्षेत्रीय समन्वयले मात्र स्वास्थ्यको उपलब्धि आउने विश्वास व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्